खेल

प्रदेश सरकारकै लगानीमा ‘अन्तराष्ट्रिय क्रिकेट मैदान’ बन्ने

नयाँ आव देखि काम शुरु गरिने, डिपिआर बनाउँदै, दुईकरोड रुपैया छुट्टाइयो

क्रिकेट मैदान निर्माणको लागि गण्डकी प्रदेश सरकारले प्राप्त गरेको पोखरा–३३ पशुपतिघाटस्थितको जग्गा । तस्बिर : नागरिक

गण्डकी प्रदेश सरकारले आफनै लगानीमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण गर्ने छ । प्रदेश सरकारले आफनो बहुप्रतिक्षित योजना अनुसार ‘एक अन्तराष्ट्रिय क्रिकेट मैदान’ बनाउने लक्ष्य र योजनालाई आगामी आर्थिक वर्षदेखि शुरु गर्ने जनाएको छ । क्रिकेट मैदान बनाउन प्रदेश सरकारले दुई करोड रुपैया बजेट छुट्टाएको छ ।  

प्रदेश सरकारकै लगानीमा बन्ने पहिलो अन्तराष्ट्रिय क्रिकेट मैदानको लागि जमिनको सर्भे भईसकेको छ । सर्भेसँगै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने जिम्मेवारी काठमाडौंको बीआरएस कन्सल्टेन्सीलाई दिइएको छ । यसै आर्थिक वर्षमा छुट्टाएको ५० लाख मध्येबाट प्रदेश सरकारले डिपिआर तयार गर्ने योजनासहित जिम्मेवारी एकसाता अघि मात्रै दिएको हो । कन्सल्टेन्सीले असार मसान्तभित्रमा डिपिआरको फाईनल गर्ने सम्भावना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गत  खेलकुुद शाखाले जनाएको छ ।  

‘डिपिआर तयार भएर आएपछि सम्भवत नयाँ आर्थिक वर्षसँगै काम शुरु गर्ने छौं ।’ मन्त्रालय खेलकुद विभाग महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले भने–‘साउन या भदौमा काम शुरु गर्छौ । कन्सल्टेन्सी स्वयंले पनि सर्भे गरेर रिपोर्ट तयार गर्ने छ ।’ प्रदेश सरकार गठनसँगै विज्ञ टोली गठन गरी अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउनको लागि जग्गा छनोट शुरु गरिएको थियो । जग्गा प्राप्तीकै लागि झण्डै दुई वर्ष वित्यो । पोखरा–३३ पशुपतिघाटको झण्डै ४ सय रोपनीको क्षेत्रफल प्रदेश सरकारको जग्गा प्राप्तभएपछि मैदान निर्माणको प्रारम्भिक काम अघि बढेको हो । मैदानको लागि ५० लाख रुपैयाँ छुटाइएको थियो । ‘डिपिआर फाईनल भएपछि टेण्डर आह्वान गर्छौ ।’ महाशाखा प्रमुख काफ्लेको भनाई थियो ।  

जग्गा सेती नदी किनारमा छ । जग्गा संरक्षणको लागि नदीकिनारमा तटबन्ध लगाउनुपर्ने खाँचो छ । कन्सल्टेन्सीको रिपोर्ट अनुसार तटबन्धसँगै अन्य क्रिकेटको पूर्वाधार बनाउन सकिने विषयमा यकिन हुने उनले बताए । ‘जमिन सम्याउने, पीच बनाउने, तारबार लगाउने काम अगाडि बढाउँछौै,’ उनले भने, ‘प्यारापिट निर्माण, ग्रिनरी, गेट, अफिस भवन लगायतका काम भने चरणबद्ध रुपमा गरिने छ ।’ मैदानको लागि प्रदेश सरकारले नापी गरेर सर्भे गरेको थियो । आन्तरिक सर्भे सकिएपछि प्रदेश सरकारले डिपिआर बनाउन कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको हो ।  

डिपिआर बनेपछि मात्रै मैदानको लागत स्पष्ट हुने खेलकुद महाशाखा प्रमुख काफ्लेले सुनाए । ‘क्रिकेटको लागि दुई करोड रुपैयाँ छुट्टाइएको छ । त्यसबाट काम शुरु हुने छ,’ उनको भनाई थियो, ‘कति लगानी आवश्यक पर्छ पछि मात्रै थाहा हुन्छ ।’ पोखरा रंगशालाभित्र क्रिकेट मैदान छ । त्यो नै हालको लागि एकमात्र अन्तराष्ट्रिय मैदान हो । अन्तराष्ट्रिय प्रतिस्पर्धाको लागि दुईवटा मैदान अत्यावश्यक हुन्छ ।  

प्रदेश सरकारकै लगानीमा बन्ने यो क्रिकेट मैदानले पोखराको क्रिकेटसँगै क्रिकेटको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले पनि क्रिकेट मैदान निर्माणले नयाँ आयाम हुने विश्वास छ । ‘तटबन्ध लगाउने, जमिन सम्याउने, तारबार लगाई नाली खन्छौं,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘त्यसपछि मात्रै पीच बनाउँछौं ।’ संघको लक्ष्य नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाउने छ ।

प्रकाशित: १६ असार २०७७ ०६:५४ मंगलबार

अन्तर्राष्ट्रिय क्रिकेट मैदान