लियन्डर डेन्डोनकरको निर्णायक गोलमा शनिबार म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै उल्भरह्याम्पटन इङ्लिस प्रिमियर लिगको पाँचाैँ स्थानमा उक्लिएको छ।
युनाइटेडभन्दा एक खेल बढी खेलको उल्भरह्याम्पटनले शनिबार एस्टन भिल्लाको घरेलु मैदानमा १–० को रोमाञ्चक जित निकाल्दै स्थान सुधार गरेको हो। पहिलो हाफ गोलरहित सकिएको खेलमा भ्रमणकारी टोली उल्भरह्याम्पटनले ६२औं मिनेटमा गोल गरेको थियो। जोनीको पासमा लियन्डर डेन्डोनकरले गरेको गोल निर्णायक बनेको हो। रेलिगेसन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको एस्टन भिल्लाले पहिलो हाफमा राम्रो खेल प्रदर्शन गरे पनि दोस्रो हाफमा लिएको आक्रामक रणनीति घातक बन्यो। घरेलु मैदानमा जितको खोजीमा रहेको भिल्लाले केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुक्यो।
भिल्ला ३२ खेलबाट २७ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। समान २७ अंक भए पनि एक खेल कम खेलेको एएफसी बर्नमाउथ रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि १७ स्थानमा छ। शनिबारको पराजयले एस्टन भिल्लालाई रेलिगेसन क्षेत्रबाट बँच्ने मौका गुमेको छ।
प्रिमियर लिगमा अब सातौं चरणका खेल बाँकी रहँदा लिभरपुल च्याम्पियन बनिसकेको छ। साबिकको विजेता म्यानचेस्टर सिटी र चेल्सीबीचको खेलमा चेल्सीले २–१ को रोमाञ्चक जित निकाल्दा शनिबार लिभरपुलको उपाधि पक्का भएको थियो। ३१ खेल खेलेको लिभरपुलले २८ खेलमा जित निकाल्दा २ खेल बराबरी र १ खेल गुमाएको छ। ८६ अंक बटुलिसकेको लिभरपुलले २३ अंकको अग्रता पाउँदा शनिबार च्याम्पियन बनेको हो। सात चरणका खेल बाँकी रहँदा दोस्रो स्थानको सिटीको ६३ अंक छ।
प्रकाशित: १४ असार २०७७ ०५:०७ आइतबार