चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लबले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सवा करोड भन्दा बढीको बजेट तयार गरेको छ । क्बलले आगामी वर्षको लागि कुल एक करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको जनाएको छ ।
यो बजेटमध्ये १५ लाख बजेट प्रशासनिक खर्चतर्फको हो भने बाँकी एक करोड ११ लाख वर्षभरि विभिन्न प्रतियोगिता तथा खेलकुद गतिविधिहरूको लागि विनियोजन गरिएको छ । विगतमा क्लबले वर्षमा एउटा मात्र बुढासुब्बा गोल्डकप आयोजना गर्दै आएको थियो । आगामी वर्षदेखि भने बुढासुब्बा गोल्डकपसहित विभिन्न चार वटा प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरिएको महासचिव प्रताप तामाङले बताए ।
उनका अनुसार २३औं बुढासुब्बा गोल्डकप आयोजनाको लागि ९० लाख लागत अनुमान गरिएको छ । माघ दोस्रो हप्ता आयोजना हुने प्रतियोगिताको लागि उपमहानगरपालिकाबाट २० लाख, मुख्य प्रायोजक टुबोर्गबाट ११ लाख, प्रदेश सरकारबाट १० लाख, एन्फाबाट ५ लाख, सहप्रायोजक काब्रा ग्रुपबाट चार लाख र अन्य दाताहरूबाट स्रोत जुट्ने क्लबको भनाई छ । यस्तै, भदौ १ गतेदेखि अन्डर १५ धरान क्लबस्तरीय छनौट प्रतियोगिताको लागि तीन लाख लागत अनुमान गरिएको छ ।
यसको खर्च धरान उपमहानगरपालिकाबाट डेढ लाख र अन्य स्रोत प्रायोजक, संघसंस्थाबाट जुट्ने क्लबको अनुमान छ । यसैगरि, असोज १० गतेदेखि हुने अन्डर १८ धरानस्तरीय महिला उपमेयर फुटबल प्रतियोगितामा पनि तीन लाख खर्च हुने अनुमान छ । यसको लागि पनि उपमहानगरबाट डेढ लाख र अन्य खर्च प्रायोजक, संघसंस्था, सिजनल टिकटबाट हुने क्लबको अनुमान छ ।
क्लबले धरान क्लबस्तरीय मेयर कप फुटबल प्रतियोगिता असोज दोस्रो साताको तालिका बनाएको छ । यसको लागि सात लाख ५० हजार लागत अनुमान गरिएको छ भने खर्चको स्रोत धरान उपमहानगरपालिका र क्लब आफैले जुटाउने भनिएको छ । ‘क्लबलाई वर्षभरि नै चलायनमान बनाउन, साथै फुटबलको विकासलाई पनि मध्यनजनर गर्दै आगामी वर्ष के के कार्यक्रम र गतिविधिहरू गर्ने हो, के कति खर्च लाग्छ र कहाँ बाट स्रोत जुटाउने हो भनेर नीति, कार्यक्रम तथा बजेट तय गरेको छ,’महासचिव तामाङले भने ।
क्लबले अक्षय कोष पनि स्थापना गर्ने भएको छ । यसको लागि क्लबले ५० हजार कोषमा राखेर शुरुवात गर्नेछ । त्यसपछि, संघसंस्था तथा शुभेच्छुकहरूबाट कोषमा रकम जुटाउने क्लबको योजना छ । यस्तै, क्लबले भदौ २० गतेलाई स्थापना दिवसको रुपमा मनाउने पनि निर्णय गरेको छ । उक्त दिन खेलाडीहरूलाई सम्मान कार्यक्रम पनि गरिनेछ । यसअघि, बुढासुब्बा गोल्डकप प्रतियोगिताको अलग्गै अक्षयकोष पनि क्लबले स्थापना गरेको थियो । उक्त कोषमा विभिन्न दाताहरूले रकम सहयोग गरेका थिए ।
प्रकाशित: ५ असार २०७७ ११:४८ शुक्रबार