म्यानचेस्टर सिटीले कोरोना भाइरसका कारण प्रभावित इङ्लिस प्रिमियर लिग फर्किएको दिन १० खेलाडीमा सीमित आर्सनलमाथि रबाफिलो जित निकालेको छ ।
घरेलु मैदान इत्तियाद रंगशालामा बुधबार प्रिमियर लिगको बलियो टोली सिटीले पाहुना टोली आर्सनलमाथि ३–० को सहज जित निकाल्दै महामारीका कारण सय दिनपछिको पुनरागमन सुखद बनाएको हो । जातीय अन्यायविरुद्ध विरोध जनाउँदै इङ्लिस प्रिमियर लिग फर्किएको दिन दुई खेल सञ्चालन भए । पहिलो खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेल्दा अर्को खेलमा सिटीले आर्सनललाई पूर्ण दबाबमा राख्दै सहज सफलता प्राप्त ग¥यो । दुवै खेलमा ‘ब्ल्याक लिभ्स म्याटर्स’ अंकित जर्सी खेलाडीले लगाएका थिए ।
यता, सिटीको जितसँगै शीर्ष स्थानको लिभरपुलले ३० वर्षपछि उपाधि उचाल्न अझैं केही दिन कुर्नुपर्ने भएको छ । ‘कालो वर्णका मानिसमाथि कुन किसिमले विभेद भयो, त्यसप्रति म एकदम लज्जित छु,’ अमेरिकामा सुरक्षाकर्मीद्वारा घाँटी थिचिएर मारिएका जर्ज फ्लोयडप्रति इंगित गर्दै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘हामीले उनीहरूका लागि अभैm धेरै गर्न बाँकी छ, जुन अहिलेसम्म हामीले गर्न सकेका छैनौं ।’ यस जितसँगै सिटीले शीर्ष टोली लिभरपुलसँग २२ अंकले दूरी छोट्याएको छ र लिभरपुलले आगामी आइतबारमा मर्सिसाइड डर्बीमा एभर्टनविरुद्ध प्रतिस्पर्धा गर्दै उपाधि सुरक्षित गर्नेछैन ।
आर्सनलले सुरुआतदेखि नै दबाबमा रहेर सिटीलाई सहजै नतिजा सुम्पिएपछि लिभरपुलको छिट्टै उपाधि उचाल्ने धोको केही मात्र प्रभावित हुन पुग्यो । खेल सुरु हुनुअघि नै कोभिड–१९ का कारण निधन भएकाको आत्मशान्तिका लागि मौन धारण गरिएको थियो । सिटीका प्रशिक्षक ग्वार्डिओलाले पनि कोरोनाकै कारण आफ्नी आमा गुमाउनुपरेको थियो । खेलाडीले नाम लेखिने जर्सीमा ब्ल्याक लिभ्स म्याटर अंकित सन्देश प्रवाह गरेका थिए भने रहिम स्टर्लिङलगायत केही खेलाडीले घुँडा टेकेर न्यायको याचनासमेत गरे । सुरुआतमै दुई खेलाडी घाइते हुँदा आर्सनलले दबाब बेहो-यो ।
यस जितसँगै सिटीले शीर्ष टोली लिभरपुलसँग २२ अंकले दूरी छोट्याएको छ र लिभरपुलले आगामी आइतबार मर्सिसाइड डर्बीमा एभर्टनविरुद्ध प्रतिस्पर्धा गर्दै उपाधि सुरक्षित गर्नेछैन ।
गनर्सका प्रशिक्षक मिकेल आर्टेटाले इत्तियादको टोलीविरुद्ध बलियो रणनीति अपनाए पनि सुरुआतमै खेलाडीले चोट बोकेपछि ठूलो झड्का लाग्यो । आर्टेटाले एलेक्जान्द्रे लाकाजेट, क्लबको कीर्तिमानी रकममा अनुबन्धित निकोलस पेपे, डेविड लुइजजस्ता खेलाडीलाई बेन्चमै राखेका थिए । बेन्चमा ९ सब्टिच्युसन राख्न पाउने नियमका बावजुद मेसुट ओजिलले पहिलो रोजाइमा स्थान बनाउन असफल भए । तर, खेलको २०औं मिनेटमै ग्रानिट जाका र पाब्लो मारी घाइते हुन पुगेपछि लुइजले अवसर पाए । ‘सुरुआतदेखि नै हाम्रा लागि खराब समय रह्यो र जब ग्रानिट घाइते हुन पुगेका थिए,’ आर्टेटाले भने ।
सिटीको केही उत्कृष्ट आक्रमणलाई आर्सनलका गोलकिपर बान्र्ड लेनोले विफल बनाएका थिए । उद्यपि, लेनोको त्यो योजना पहिलो हाफ कट्न सकेन । पहिलो हाफ सकिन लाग्दा लुइजको खराब डिफेन्सको फाइदा उठाउँदै स्टर्लिङले गोल गरे । केभिन डी ब्रुयनाको क्रस रोक्ने प्रयास गर्दा लुइजले बल फुत्काएपछि स्टर्लिङ सो बललाई ६ यार्ड नजिकबाट गोलमा परिणत गराए । दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै लुइजको दोस्रो गल्तीबाट सिटीले अग्रता दोब्बर बनाउने अवसर बनायो । पेनाल्टी क्षेत्रमा रियाद महारेजलाई लडाउँदा लुइज रातो कार्ड खाँदै बाहिरिएपछि आर्सनल १० खेलाडी सीमित भयो ।
उक्त पेनाल्टी अवसरमा गोल गर्दै ब्रुयनाले सिटीलाई २–० ले अगाडि बढाए । सिटीका डिफेन्डर इरिक गार्सिया आफ्नै गोलकिपर एडर्सनसँग ठोक्किँदा घाइते हुन पुगे । यद्यपि, उनी सामान्य देखिए पनि परीक्षणपश्चात् मात्र उनको चोटको गहिराइ थाहा हुने प्रशिक्षक ग्वार्डिओलाले बताएका छन् । सिटीका लागि तेस्रो गोल फिल फोडेनले थप्दै आफ्नो टोलीलाई सहज जित दिलाए । हारसँगै आर्सनलको आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आशा कमजोर बनेको छ । नवौं स्थानमा रहेको आर्सनल शीर्ष चारका लागि अझैं ८ अंकले पछि छ ।
प्रकाशित: ५ असार २०७७ ०२:३० शुक्रबार