खेल

आजबाट प्रिमियर लिग

विश्वभर महमारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण तीन महिना स्थगित इङ्लिस प्रिमियर लिग आजबाट पुनः सुचारु हुँदै छ । मार्चमा लिग रोकिनुअघि र अहिलेको अवस्था धेरै फरक भइसकेको छ । खेलाडीको चोटबाट चिन्तत  क्लबहरू प्रायः खेलाडी चोटमुक्त हुँदै टोलीसँगै अभ्यासमा फर्किएपछि चिन्तामुक्त छन् ।

टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होको टोलीले  लगातार खराब प्रदर्शनबाट गुज्रिएसँगै उनी छिटोभन्दा छिटो यस सिजनको अ्रन्त्य होस् भन्ने कामनामा थिए  । यस क्रममा टोटेनह्यामले लगतार ६ खेलमा जितको स्वाद चाख्न सकेको थिएन । साथै उनको टोली च्याम्पियन्स लिग र एफए कपबाट समेत बाहिरिएको थियो भने प्रिमियर लिगको समेत शीर्ष ४ भन्दा ७ अंकले पछि थियो ।

टोटेनह्याम र युनाइटेडलाई राहत

यो तीन महिनाको विश्रामपछि माउरिन्हो सबैभन्दा सन्तुष्ट प्रशिक्षकका रूपमा  देखिएका छन् । प्रिमियर लिग रोकिनुअघि टोटेनह्याममा आफ्ना प्रमुख खेलाडीहरू ह्यारी केन, सन ह्युङ मिन, स्टेभिन बर्जविन्ज, इरिक लामेला र मौसा सिसीको चोटका कारण बेन्चमा थिए र उनीहरू यो सिजनको अन्त्यसम्म पनि मैदान फर्कनेमा शंका थियो । तर अहिले यी सबै खेलाडी  चोटमुक्त हँुदै अभ्यासमा फर्किसकेका छन् । त्यसैले पनि माउरिन्होमा खुसी फर्किएको हो ।

टोटेनह्यामले प्रिमियर लिग पुनः सुचारु भएको पहिलो खेलमै शीर्ष ४ को अर्को  दाबेदार टोली म्यानचेस्टर युनाइटेडको सामना गर्दै छ  । आठांै स्थानको टोटेनह्याम पाँचाै‌ स्थानको युनाइटेडभन्दा ४ अंकले पछि छ । यसै सिजन ब्रुनो फर्नान्डेजलाई अनुबन्धन गरेको युनाइटेडले जनवरीदेखि सबैखाले प्रतियोगिता गरी आफ्नो अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिएको छ ।

युनाइटेडका लागि इङ्ल्यान्डका स्ट्राइकर मार्कुस रसफोर्ड र फ्रान्सका मिडफिल्डर पाउल पोग्बाको पुनरागमन सुखद बन्न सक्छ । टोटेनह्यामपछि युनाइटे्डले सातौं स्थानको सेफिल्ड युनाइटेडविरुद्ध खेल्नेछ ।

रोचक रेलिगेसन समीकरण

प्रिमियर लिग रोकिएपछि  सबैभन्दा चर्चा चलेको एउटै विषय थियो, यदि कोरोना भाइरसकै कारण सिजन रद्द भएमा रेलिगेसनको हकमा के गर्ने भन्ने । प्रिमियर लिगले न्युट्रल भेन्युको प्रस्ताव राख्दा  रेलिगेशन क्षेत्रमा रहेका  टोलीले सो प्रस्तावको विरोध गरेका थिए । त्यसमा सबैभन्दा विरोध गर्ने थियो– ब्राइटन ।

२०२० को सुरुआतपछि  कुनै पनि खेल नजितेको ब्राइटनको रेलिगेसन क्षेत्रभन्दा मात्र ३ अंक बढी छ । ब्राइटनको बलिया टोली आर्सनल, म्यानचेस्टर युनाइटेड, लिभरपुल  र म्यानचेस्टर सिटीविरुद्धको खेल बाँकी नै छ । त्यस्तै गोलअन्तरको आधारमा मात्र रेलिगेसन क्षेत्रबाट माथि रहेको वाट्फोर्डले पनि न्युट्रल भेन्युको विरोध गरेको  थियो । वाट्फोर्डभन्दा एक खेल कम खेलेको एस्टन भिल्लाले सो खेल जितेमा एस्टन रेलिगेसन क्षेत्रमाथि उठ्न सक्छ । १९औं स्थानको एस्टन भिल्लाले लिगका पछिल्ला ४ खेलमा लगातार हार व्यहोरेको छ । यता १८औं स्थानको बर्नामाउथले पनि लिगका पछिल्लो४ खेलमा हार व्यहोरेको छ । नर्बिच सिटी २०औं स्थानमा छ ।

उपाधिको संघारमा लिभरपुल

शीर्ष स्थानको लिभरपुल ३० वर्षपछि प्रिमियर लिग उपाधिको संघारमा छ र यो क्षणका लागि  योर्गान क्लोपका समर्थकले व्यग्र प्रतीक्षा गरेका छन् । तर प्रिमियर लिग पुनः सुचारु भए पनि लिगका बाँकी सबै खेल बन्द रंगशालामा हुने भएकाले, क्लबले लिग उपाधिको खडेरी तोडे पनि लिभरपुलले त्यो खुसी रंगशालामा समर्थकमाझ भने मनाउन पाउने छैन ।

लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अघि छ । लिगमा मात्र ९ खेल बाँकी रहँदा अब दुई खेल मात्र जितेमा  पनि लिभरपुलले उपाधि पक्का गर्न सक्छ । जुन २१ मा दोस्रो स्थानको सिटीले  आर्सनललाई नतिजा सुम्पिएमा र लिभरपुलले मर्सिसाइड डर्बीमा एभर्टनमाथि सुखद नतिजा ल्याएमा क्लोपको टोलीले सोही दिन उपाधि उचाल्नेछ ।

प्रिमियर लिग रोकिनुअघि टोटेनह्यामका आफ्ना प्रमुख खेलाडीहरू ह्यारी केन, सन ह्युङ मिन, स्टेभिन बर्जविन्ज, इरिक लामेला र मौसा सिसीको चोटका कारण बेन्चमा थिए र उनीहरू यो सिजनको अन्त्यसम्म पनि मैदान फर्कनेमा शंका थियो । तर अहिले यी सबै खेलाडी  चोटमुक्त हँुदै अभ्यासमा फर्किसकेका छन् 

प्रकाशित: ३ असार २०७७ ०८:२५ बुधबार

खेलाडी इङ्लिस प्रिमियर लिग