खेल

रोनाल्डोको पेनाल्टी असफल

इटालीमा फर्कियो फुटबल

कोरोना भाइरसको महामारीबाट ठूलो मानवीय क्षति बेहोरेको इटालीमा फुटबल फर्किंदा युभेन्ट्सले १० खेलाडीमा सीमित एसी मिलानलाई स्तब्ध बनाउँदै इटालियन कपको फाइनलमा स्थान बनाएको छ । शुक्रबार भएको खेलमा मिलानसँग गोलरहित बराबरीमा रोकिए पनि अवे मैदानमा गरेको गोलका आधारमा युभेन्ट्स फाइनलमा पुगेको हो । 

महामारीका कारण गत मार्च ९ मा सिजन प्रभावित हुनुअघि मिलानमा भएको पहिलो लेगमा युभेन्ट्सले १–१ गोल बराबरी गरेको थियो । अवे मैदानमा गरेको गोल नै युभेन्ट्सलाई फाइनलमा पु¥याउन पर्याप्त भयो । नेपोली र इन्टर मिलानबीच सेमिफाइनलको दोस्रो लेग प्रतिस्पर्धाबाट युभेन्ट्सको उपाधि प्रतिद्वन्द्वी तय हुनेछ । उक्त फाइनल आगामी बुधबार रोममा हुनेछ । 

क्रिस्टियानो रोनाल्डोले पेनाल्टी गुमाएको र युभेन्ट्सले प्रभुत्व जमाएको खेलमा दुवै तर्पmबाट उत्कृष्ट प्रदर्शन हुन सकेको थिएन । युभेन्ट्सका प्रशिक्षक माउरिसियो सारीले पनि आफ्नो टोलीले पहिलो ३० मिनेट सिजनकै सर्वश्रेष्ठ प्रदर्शन गरेको महसुस गरे । ‘हरेक पक्षको सुरुआत गर्न कठिन नै हुन्छ र त्यसमा पनि समर्थकबिना खेल्नु निकै कठिन हुन्छ,’ सारीले भने, ‘७० दिनको विश्रामबाट उठेर आउँदा शारीरिक रूपमा केही कमजोरी नै देखिन्छ । उनीहरू गर्मीको छुट्टी मनाएर आएका होइनन्, शारीरिक र मानसिक स्तरमा ठूलो विनाशकारी क्षणबाट गुज्रिएर आएका हुन् ।’ 

प्रशिक्षक सारीले आफ्नो खेलाडीको प्रदर्शनप्रति बचाउ गर्दै समर्थकबिना खेल्दा धेरै कठिन हुने बताए । ‘जब खेलाडी मैदानमा थकित हुन्छ, त्यो समय समर्थकले उसलाई जगाउने प्रयास गर्दछ । यो पटक त्यो अवस्था थिएन र त्यसैले गोल निक्लन कठिन भयो । यद्यपि, हामीले जसरी हुन्छ गोल निकाल्नै पर्छ,’ सारीले भने । ठ्याक्कै सय दिनपश्चात् खेलाडीहरू टुरिनको मैदानमा खेल्ने फर्किएका थिए । 

यसअघि हरेक जसो एलियान्ज स्टेडियममा उद्घोषकले ‘महिला तथा सज्जनहरू’ भन्दै युभेन्ट्स टोलीको परिचय गराएको बोली गुन्जिन्थ्यो । तर यस पटक भने कथा फरक रह्यो, लामो समयपछिको लकडाउनपश्चात् सञ्चालित प्रतियोगितामा गज्जबको मौन थियो । करिब ४० हजार समर्थकले स्कार्पm समातेर युभेन्ट्सका आकर्षक गीत गाउने गर्दथे । तर, शुक्रबार भने शान्तिपूर्वक खेल सुचारु भयो । 

कोरोना भयका कारण युभेन्ट्स र मिलान फरक द्वारबाट निक्लिएका थिए । इटालीमा कोरोनाका कारण ३४ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए, खेल सुरु हुनुअघि उनीहरूप्रति मौन धारण गरिएको थियो । साथै कोरोना महामारीबीच डटेर स्वास्थ्य क्षेत्रमा खटिएको स्वास्थ्यकर्मीको हौसलाका लागि ताली बजाइएको थियो । दुवै टोलीले जर्सीमार्फत अमेरिकामा घटेको जातीय विभेदको विरोध गरेका थिए । नयाँ नियमअनुसार मैदानमा टोली, अफिसियल र मिडिया गरी तीन सयभन्दा बढी मानिस थिएनन् । 

दर्शक नभएकाले शान्त मैदानमा बेन्चमा बसेका खेलाडीको समर्थनका आवाज र चुट्की पनि स्पष्ट सुनिएको थियो । जब, १५औं मिनेटमा पेनाल्टीको अवसर सिर्जना हुँदा बेन्चका खेलाडीका आवाज गुन्जिएका थिए । तर, उक्त पेनाल्टीको निर्णय भिडियो सहायतबाट लिएको थियो । यद्यपि, रोनाल्डोको पेनाल्टी प्रहार बायाँ बारमा लागेर असफल भएपछि युभेन्ट्सका बेन्चका खेलाडीको चियर्स सुस्केरामा परिणत हुन पुग्यो । 

त्यससँगै मिलानको बेन्चले खुसी मनाए पनि उनीहरू आफ्नो स्थानमा बस्न नपुग्दै मिलानका फरवार्ड एन्टे रेबिचले युभेन्ट्सका डिफेन्डर डानिलोलाई खराब ट्याकल गरेपछि १० खेलाडीमा सीमित हुन पुग्यो । त्यसअघि पनि संघर्ष गरिरहेको मिलानले रेबिकको अनुपस्थितिसँगै थप दबाब बेहो¥यो । उक्त खेलमा प्रतिबन्धका कारण ज्लाटन इब्राहिमोभिचको अनुपस्थिति पनि मिलानलाई खड्किएको थियो । 

एलियान्ज स्टेडियमबाहिर राति टुरिनमा कडा सुरक्षा व्यवस्था थियो, तर पनि समर्थक थिए । तीमध्ये एक समर्थक बर्गामोबाट १ सय २० किलोमिटर यात्रा गरेर टुरिन पुगेका थिए । ‘एक क्षण भए पनि टोलीलाई हेर्न चाहन्थें, जुन मैले चार महिनादेखि उनीहरूलाई हेर्न पाएको थिइनँ । बाहिरबाट भए पनि उनीहरूलाई समर्थन गर्नेछु,’४७ वर्षे मेसिमिलियानो बाल्डुजीले भने, ‘खराब स्थितिका कारण हामी भित्र जान सक्दैनौं । आशा गरौं, चाडै हाम्रा लागि रंगशाला खुला हुनेछन् ।’ इटालियन कपको फाइनलपश्चात् आगामी जुन २० देखि सिरी ‘ए’ खेल सञ्चालन हुनेछन् ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १०:३० आइतबार

फुटबल रोनाल्डो