खेल

जापान ओलम्पिक–२०२१ लागि छलफल

एक वर्ष पछि धकेलिएको जापान ओलम्पिक–२०२१ सहज बनाउनका लागि आयोजकले विभिन्न पदाधिकारीसँग छलफल गरेको बताएको छ ।

कोरोना महामारीका कारण २०२० को अन्तिमतिर तय भएको जापान ओलम्पक एक वर्ष धकेलिएसँगै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सहज रूपमा आयोजना गर्नका लागि विभिन्न सरेकारवालासँग आयोजकले छलफल गरेको बताएका हुन् । सहज बनाउनका लािग अध्यक्ष बाचले २ सयभन्दा बढी प्रतिवेदन अध्ययन गरिने जनाएका हुन् ।

‘कोरोनाका कारण विश्व नै थलियो । हामी कुनै पनि हालतमा निर्धारित मिति सार्ने मनस्थितिमा थिएनौं । तर बाध्यता बन्यो । महामारी नै बनेर मान्छेको अगाडि खडा भयो । निस्तेज पार्नका लागि विश्वभरका मानिसले धेरै संघर्ष गर्नुपर्यो,’ अध्यक्ष बाचले भने, ‘हामी जापानका अधिकारीसँग नै हातेमालो गर्दै चुनौतीलाई पार गर्न चाहन्छौं । कठिन कामलाई कसरी हुन्छ घटाउँदै सहज वातावरणमा सम्पन्न गर्ने लक्ष्यसहित छलफल गरेका हौं ।’

यसअघि २०२० ओलम्पिक जुलाई २४ बाट आयोजना गर्ने तयारी भइरहेको थियो । तर मार्च महिनामा महामारी फैलिएसँगै तय भएको मितिमा प्रतियोगिता आयोजना हुन नसकेको हो । त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रतियोगिता ठीक एक वर्ष पछि धकेलेको हो । नयाँ तालिका अनुसार ओलम्पिक जुलाई २३ २०२१ बाट जापानमा नै हुनेछ ।

यस्तै टोकियो आयोजक कमिटीका अध्यक्ष योसिरो मोरीले बुधबार नै एक वर्ष पछि धकेलिएको ओलम्पिक खेल सफल रूपमा  आयोजना गर्दै महामारीलाई जित्ने विश्वास व्यक्त गरे ।

‘अहिले महामारीले विश्व नै परिवर्तन भएको छ । यस्तो परिस्थितिमा हामीले आयोजकको नाताले ओलम्पिकमा सहभागी सबैलाई भयरहित वातावरण दिन चाहन्छाैं,’ आयोजक कमिटीका अध्यक्ष मोरीले भने । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका स्पोर्ट्स निर्देशक क्रिस्टिफो दुबीले ओलम्पिकमा सहभागी सबै पदाधिकारीलाई स्तरीय सेवा दिने प्रतिबद्धता जनाएका थिए ।

‘यसअघि आयोजना भएका संस्करणमा केही समस्या अवश्य थिए । तर अहिलेको अवस्था निकै चुनौतीपूर्ण र अवसर पनि हुनेछ,’ स्पोर्ट्स निर्देशक दुवीले भने । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस अझै नियन्त्रणमा नआएको भन्दै विभिन्न संस्थाले एक वर्ष पछि धकेलिएको ओलम्पिक आयोजना हुन नसक्ने बताउँदै आएका छन् ।

प्रकाशित: २९ जेष्ठ २०७७ १८:२० बिहीबार

छलफल तीव्र जापान ओलम्पिक