खेल

बायर्नले अंकदूरी बढायो

कालो पट्टीको प्रयोग गरी घुँडा टेक्दै विरोध जनाएको टोली बायर्न म्युनिखले शनिबार राति बुन्डेसलिगामा बायर लेभरकुसेनमाथि ४–२ को सानदार जित निकालेको छ ।

शनिबारको जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमन्डसँगको अंकदूरी ७ पुर्याएको छ । कोरोना भाइरस महामारीपछि सुचारु भएको सबैभन्दा पहिलो युरोपियन लिग बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा बायर्नले घरेलु टोलीलाई फराकिलो अन्तरले स्तब्ध बनाएको हो । लेबरकुसेनले १०औं मिनेटमा लिएको अग्रतालाई कायम राख्न नसक्दा भ्रमणकारी टोली बायर्नसँग स्तब्ध भएको हो  ।

सुरुआतबाट नै आक्रामक देखिएको लेभरकुसेनका लागि लुकास एलारियोले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि नै पछि परेको भ्रमणकारी टोली बायर्नका लागि  किंग्सले कोमानले बराबरी गोल फर्काए । बराबरी खेल्दै खेलको लयमा फर्किएको बायर्नका लागि लियोन गोल्लेजकाले पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा गोल गर्दै अग्रता उल्टाए । पहिलो हाफ सकिनै लाग्दा सेर्जे ग्याब्रेले टोलीका लागि तेस्रो गोल गरे ।

पहिलो हाफमा ३–१ को अग्रता लिएको बायर्नले ६६औं मिनेटमा चौथो गोल गर्दै अग्रता झन् फराकिलो पार्यो । पछि परेको लेभरकुसेनले अन्तिम मिनेट बाँकी रहँदा खेलमा फर्किन प्रयास गर्दै अग्रता छोट्याए पनि जितका लागि पर्याप्त भएन । ८९औं मिनेटमा फ्लोरियन विजले गोल गर्दै अग्रता ४–२ मा पुर्याएका थिए ।

सानदार जित निकालेको बायर्नको ३० खेलबाट ७० अंक पुगेको छ भने पराजित लेभरकुसेनको समान ३० खेलबाट ५७ अंक रहेको छ । ३० खेल नै खेलेको बोरुसिया डर्टमन्ड ६३ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा आरबी लिपजिक ५९ अंकका सात तालिकाको तेस्रो स्थानमा छ ।

बुन्डेसलिगाअन्तर्गत शनिबारै भएको अर्को खेलमा फ्रेइबर्गले भ्रमणकारी टोली मोन्चेनग्लाडबाचलाई १–० ले स्तब्ध बनाउँदा मेइन्जले इन्ट्य्राक्ट फ्य्रांन्कफर्टमाथि उसैको मैदानमा २–० को जित निकाल्यो । फर्टुना र होफेनहेइमले २–२ को गोलको बराबरी खेल्दै अंक बाँडे । यस्तै आरबी लिपजिग र पेड्रोबर्नले १–१ गोलको बराबरी खेल्दा डर्टमन्डले हार्था बर्लिनलाई १–० ले हरायो ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०९:५५ सोमबार

फुटबल बुन्डेसलिगा बायर लेभरकुसेन