खेल

फिफाद्वारा आयोजकलाई विवेक पुर्याउन आग्रह

अश्वेत मृत्युमा फुटबलरको प्रतिक्रिया

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले फुटबलरहरू राजनीतिप्रेरित सन्देशमा संलग्न भएपछि कारबाही प्रक्रियाबारे आयोजकले नै विवेक पुर्याउनुपर्ने जनाएको छ ।

अमेरिकामा मृत्यु भएका अश्वेत नागरिक जर्ज फ्लोयडले न्याय पाउनुपर्ने सन्देश खेलमार्फत प्रवाह गरेपछि जर्मन लिग बुन्डेसलिगाका सात खेलाडीलाई कारबाही प्रक्रिया सुरु भइरहँदा फिफाको त्यस किसिमको भनाइ बाहिर आएको हो । ‘फिफा जर्ज फ्लोयडको दुःखद निधन र खेलाडीहरूले व्यक्त गरेको भावनाको गहिराइ र चिन्ताबारे पूर्ण रूपमा बुझ्दछ,’ फिफाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार जर्मन फुटबल एसोसिएसनले अमेरिकामा भएको जातीयता र पुलिसको क्रुरताविरुद्ध प्रदर्शनमा खेलाडीले पनि साथ दिएको विषयमा बुन्डेसलिगाका तीन खेलाडी बोरुसिया डर्टमन्डका जाडोन सान्चो र असरफ हकिमी तथा साल्केका वेस्टन म्याककेनीमाथि अनुसन्धान सुरु गरेसँगै मंगलबार फिफाको त्यस किसिमको भनाइ आएको हो । फिफाको नियममा त्यस किसिमका गतिविधि गर्न नपाइने भएकाले फुटबलरमाथि कारबाही प्रक्रिया अघि बढिरहेको छ ।

फुटबल खेलको नियम बनाउने इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) ले खेलमा खेलाडीलाई कुनै पनि किसिमका राजनीतिक, धार्मिक या व्यक्तिगत स्लोगन तथा वक्तव्य या चित्र देखाउन प्रतिबन्ध लगाएको छ । तथापि फिफाले जातीय विभेदबारे अभियान चलाउने सान्चो, हाकिमी र म्याककेनीविरुद्ध कुनै पनि कारवाही हुनु हुँदैन भनेर सूचित गरेको छ । ‘घटनाको प्रकृति र सन्दर्भ हरेर कतिपय अवस्थामा आइएफएबीद्वारा अनुमोदन गरिएका खेल कानुनबारे नजरआन्देश गर्नुपर्छ । यसबारे स्वयम् आयोजकले नै सामान्य ज्ञान प्रयोग गर्नु उपयुक्त हुनेछ,’ फिफाले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

यता, हंगेरी फुटबल संघले भने अफ्रिकन मुलुकका खेलाडीलाई सचेत गराउँदै लिखित पत्र पठाएको थियो । दक्षिण सुडानबाट केन्याको शरणार्थी शिविर हुँदै नर्वेमा हुर्किएका टोमाक एनगुइनले हंगेरीमा जारी खेलमा गोल गरेपछि ‘जस्टिस फर जर्ज फ्लोयड’ नामांकित जर्सी प्रदर्शन गरेका थिए । गत आइतबार उनले फेरेन्सभारोसका लागि पुस्कास एकेडेमियाविरुद्ध गोल गरेका थिए । उनकै गोलप्रेरित फेरेन्सभारोसले एकेडेमियासँग १–१ बराबरी खेलेको थियो । अनुशासन कमिटीले एक पटकलाई सचेत गराउँदै फेरि दोहोर्याएमा जरिवाना तोक्ने जनाएको छ ।

विश्वभर फुटबल खेलाडीले विरोध जनाइरहँदा लिभरपुलका फुटबलरले पनि गत सोमबार एन्फिल्डमा गोलो घेरा बनाउँदै घुँडा टेकेर फ्लोयडले न्याय पाउनुपर्नेप्रति समर्थन गरेका थिए । म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा र मार्कुस रसफोर्डले पनि सामाजिक सञ्जालमार्पmत जातीय विभेद असह्य भएको सार्वजनिक गरिसकेका छन् ।

टेनिस स्टार नाओमी ओसाका, चर्चित गल्फर टाइगर वुड र महान् बक्सर फ्लोयड मायरवेथरले पनि उक्त घटनाको विरोध गर्दै न्यायको माग गरेका छन् । बक्सर फ्लोयडले मृतकको श्रद्धाञ्जलिमा लाग्ने खर्च आफूले बेहोर्ने प्रस्ताव राखेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बक्सरको प्रस्ताव उनको परिवारले पनि स्वीकार गरिसकेको बताइएको छ ।  

गत सोमबार मिन्नेसोटा राज्यको मिनियापोलिस सहरमा एक जना अश्वेत नागरिक फ्लोयडको मृत्युपछि अमेरिकामा विरोध प्रदर्शन भइरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सडकमा लडेका ४६ वर्षे फ्लोयडको घाँटीलाई एक पुलिसले घुँडाले दबाएर राखेको देखिएको थियो । फ्लोएडले आफूलाई सास फेर्न गाह्रो भएको भनिरहे पनि ती पुलिसले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म दबाइराखे र उनको मृत्यु भयो ।

जर्ज अश्वेत थिए जबकि उनको घाँटी थिच्ने पुलिसकर्मी गोरा थिए । फ्लोयडको मृत्युले अमेरिकामा फेरि एक पटक काला र गोराबीचको विभेदबाट बहस सुरु भएको छ । अमेरिकाको विभिन्न राज्यमा सडकमै उत्रिएर मानिसले प्रदर्शन गर्दा ठूलो क्षति भएपछि सरकारले राजधानी वासिङ्टन डिसीसहित ४० सहरमा कफ्र्यु लगाउँदै पाँच हजार सुरक्षाकर्मी खटाएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०२:१५ बिहीबार

फुटबल खेलाडी फिफा