खेल

सोमबारबाट श्रीलंकाली टोली अभ्यासमा

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसका कारण स्थगित श्रीलंकाली क्रिकेट टोलीले सोमबारबाट अभ्यास गर्ने भएको छ ।

सबैखाले खेलकुद गतिविधि ठप्प भएसँगै स्थगित भएको क्रिकेट अभ्यासका लागि उच्च स्वास्थ्य सतर्कता अपनाउँदै अभ्यासमा फर्किने श्रीलंकाको क्रिकेट निकायले जनाएको हो । मार्च १३ तारिखका लागि इङ्ल्यान्डसँग तय भएको खेलतालिका कोरोना भाइरसका कारण स्थगित भएको थियो । दुई टेस्ट शृृंखलाका लागि अभ्यास गरिरहेको श्रीलंकाले इङ्ल्यान्डसँग खेल्नुअघि सबैखाले खेलकुद गतिविधि बन्द गरेको थियो ।

अभ्यासमा फर्किन लागेको टोलीले सुरुआती चरणमा १३ खेलाडीको उपास्थितिमा १२ दिन अभ्यास गर्ने बताइएको छ । सुरुआती चरणमा खेलाडीको स्वास्थ्य अवस्था, शारीरिक अवस्थालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ । उक्त कार्यक्रम सोमबारबाट नै लागू हुने क्रिकेट श्रीलंकाले जनाएको हो । अभ्यास भने मंगलबारबाट मात्र हुनेछ ।

‘अभ्यासमा सहभागी कुनै पनि खेलाडीले अनुमतिबिना आवासीय होटल छोड्न पाउने छैनन् । व्यक्तिगत कारणले अभ्यासमा अनुपस्थित पनि हुन पाइने छैन,’ श्रीलंकाली क्रिकेट संघले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘सबै खाले क्रिकेट संरचनाका लागि छनोट भएका खेलाडी पुरानै लयमा फर्किन धेरै अभ्यासको जरुरी पर्छ । अभ्यास र अभ्यस्त गराउनका लागि उच्च प्राथमिकताका साथ टिममा बोलाइएको हो ।’

कोरोना भाइरस महामारीको रूपमा  फैलिएसँगै इङ्ल्यान्डविरुद्धको श्रीलंकाको भ्रमण अनिश्चित कालका लागि स्थगित भएको थियो । जनवरी २७ तारिखसम्मको तथ्याङ्कअनुसार श्रीलंकामा १ हजार ६ सय २० मानिसमा संक्रमण देखिएको थियो भने १० मानिसले ज्यान गुमाउन पुगेका छन् ।

श्रीलंकाका मुख्य प्रशिक्षक मिक्की अर्थुरले लकडाउनका कारण घरमै बसेका खेलाडीलाई सामान्य अभ्याससँगै शारीरिक व्यायाम गर्न निर्देशन दिएका थिए ।

प्रकाशित: २० जेष्ठ २०७७ ०७:५९ मंगलबार

क्रिकेट खेलकुद श्रीलंका