खेल

कन्ट्याक्ट ट्रेनिङमा सहमति

इपिएल पुनः सञ्चालन दोस्रो चरणमा

कोरोना भाइरसको महामारी फैलिएसँगै रोकिएको इङ्लिस प्रिमियर लिग (इपिएल) पुनः सुचारु गर्नका लागि तयार पारेको प्रोजेक्ट रिस्टार्ट दोस्रो चरणमा प्रवेश गरेको छ ।

पहिलो चरणअन्तर्गत गत साताबाट प्रिमियर लिगले खेलाडीलाई सामाजिक दूरीको निर्देशन पालना गर्दै ससाना समूहमा अभ्यास गर्नका लागि अनुमति दिएको थियो । मंगलबार प्रिमियर लिग र २० क्लबसँग भएको छलफलपछि क्लबहरू कन्ट्याक्ट ट्रेनिङ सुरु गर्न सहमत भएका हुन् ।

‘खेलाडीहरूले अब एकै समूहमा अभ्यास गर्न पाउँछन् र ट्याकल पनि गर्न पाउँछन् तर अनावश्यक रूपमा एकअर्काको नजिक भने हुन पाउने छैनन्,’ प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा थप छलफल जारी छ ।’ प्रिमियर लिग क्लबका खेलाडी र पदाधिकारीहरूको साताको दुई पटक कोरोना परीक्षण गरिने प्रिमियर लिगले जनाएको छ ।

गत साता मंगलबार लिगका खेलाडी र क्लब पदाधिकारीमा गरिएको कोरोना परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको थियो । आइतबार थप दुई जनामा कोरोना पुष्टि भएको खबर सार्वजनिक भएपछि संक्रमितको संख्या ८ पुगेको थियो ।

आइतबार  खेलाडी र क्लब पदाधिकारी गरी कुल ९ सय ९६ जनाको दोस्रो चरणको कोरोना परिक्षण गरिएकोमा दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

क्लबका खेलाडी, प्रशिक्षक, दी प्रोफेसनल फुटबल एसोसिएसन (पिएफए), दी लिग म्यानेजर्स एसोसिएसन (एलएमए) र सरकारी पक्षबीचको साझा छलफलपछि कन्ट्याक्ट टे«निङमा सहमति जुटेको बताइएको छ ।

प्रिमियर लिगका निर्देशक रिचार्ड मास्टर्सले जर्मन बुन्डेसलिगा सुरु भइसकेकाले आफूहरू पनि प्रिमियर लिग छिट्टै सुरु हुनेमा विश्वस्त रहेको बताएका थिए । मार्च १३ पछि युरोपका अन्य लिगजस्तै प्रिमियर लिग पनि रोकिएको छ । प्रिमियर लिगमा अझै ९२ खेल बाँकी छ ।

क्लबहरूबीच बिहीबार न्युट्रल भेन्यु प्रस्तावमा मतदान हुनेछ । प्रिमियर लिगले न्युट्रल भेन्युको प्रस्ताव गरेको थियो जुन पारित हुनका लागि प्रिमियर लिगका २० मध्ये १४ क्लबको समर्थन चाहिन्छ ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:३५ बिहीबार

खेलाडी इङ्लिस प्रिमियर लिग