खेल

विदेशी लिग खेल्न दिन माग

भारतीय ब्याट्सम्यान रोबिन उत्थपाले इन्डियन क्रिकेट बोर्ड (बिसिसिआई) ले आफ्ना खेलाडीहरूलाई विदेशी फ्रेन्चाइज ट्वान्टी २० क्रिकेट लिग खेल्न लगाएको रोक हटाउन माग गरेका छन् ।

बिसिसिआईले आफ्ना पुरुष खेलाडीलाई इन्डियन प्रिमियर लिग (आइपिएल) बाहेकका अन्य कुनै पनि फ्रेन्चाइज लिग खेल्न रोक लगाउँदै आएको छ ।

‘भगवान्का लागि भए पनि हामीलाई खेल्न देऊ,’ सन् २००७ को ट्वान्टी २० क्रिकेट विश्वकप जित्दा टोलीको सदस्य रहेका उत्थपाले भने, ‘एउटा खेलाडीलाई खेल्नमा नै रोक लगाइनु अपराध हो । त्यसले धेरै मन दुखाउँछ ।’

बिसिसिआईका अनुसार भारतीय खेलाडीले आइपिएल मात्र खेल्न पाउँछन् । अस्ट्रेलियाको बिग ब्यास लिग, क्याराबियन प्रिमियर लिग खेल्न भने रोक लगाइएको छ । इङ्ल्यान्डमा यसै वर्ष हुने भनिएको १ सय बलको क्रिकेट प्रतियोगिताका लागि कुनै पनि भारतीय खेलाडीले नाम दर्ता गरेका थिएनन् । यद्यपि प्रतियोगिता कोरोना भाइरस संक्रमणको त्रासका कारण एक वर्ष पछि सरिसकेको छ ।

महिला खेलाडी स्मृति मानन्द र हर्मनप्रीत कौरलाई भने महिला बिग ब्यास लिग र इङ्ल्यान्डमा सुपर लिग खेल्न अनुमति दिइएको छ । ‘हामी पनि अन्यत्र गएर फ्रेन्चाइज लिग खेल्न चाहन्छाैं, किनभने एक खेलाडीको नाताले हामी पनि अन्यत्रको लिगबाट धेरै कुरा सिक्न चाहन्छाैं,’ उत्थपाले भने ।

यसै महिनाको सुरुआतमा सुरेश रैनाले पनि ओभरसिज ट्वान्टी २० प्रतियोगिताका लागि बिसिसिआईको नियममा परिवर्तन हुनुपर्ने बताएका थिए । अक्टोबरबाट बिसिसिआईको नेतृत्व पूर्वकप्तान सौरभ गांगुलीले गरिरहेका छन् । त्यसैले सो नियममा केही परिवर्तन आउनेमा उत्थपा विश्वस्त छन् ।

‘गांगुली उदार मनका छन् । जसले भारतीय क्रिकेटलाई नयाँ उचाइमा लान सक्छन्,’ उत्थपाले भने, ‘खेलाडी हुँदै नेतृत्वमा पुगेकाले उनले सबै कुरा राम्ररी बुझेका छन् । खेलाडीको समस्या पनि उनलाई थाहा छ । आशा छ, उनले विदेशी फ्रेन्चाइजको हकमा रहेको नियममा केही सहज पार्नेछन् ।’

कोरोना भाइरसको कारण आइपिएलको यस सिजन भने अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०३:०० सोमबार

खेलकुद खेलाडी