खेल

अभ्यास थाल्ने तयारीमा पाकिस्तान

कोरोना भाइरसका कारण विश्व खेलकुद गतिविधि ठप्प रहेको अवस्थामा पाकिस्तानले इङ्ल्यान्ड भ्रमणका लागि एक सातापछि अभ्यास गर्ने टोली घोषणा गर्ने ती पदाधिकारीले बिहीबार बताएका हुन् । कोरोनाकै कारण जुलाई महिनाका लागि तय भएको प्रतियोगिताका लागि इङ्ल्यान्ड र वेल्स क्रिकेट संघले अन्तर्राष्ट्रिय भ्रमण गर्न सकारात्मक तत्परता देखाएका हुन् । इङ्ल्यान्ड र वेल्स ४ सय ६५ मिलियन अमेरिकी डलर नोक्सानी जोगाउनका लागि तयार देखिएका हुन् ।

यसअघि वेस्ट इन्डिजले इङ्ल्यान्ड भ्रमण गर्ने तयारी गरेको थियो । जुन महिनाका लागि तय भएको उक्त भ्रमण कोरोनाकै कारण स्थगित भएको थियो । यस्तै पाकिस्तानले पनि बन्द रंगशालाभित्र तीन टेस्ट खेल्ने तयारी गरेको थियो । उक्त खेल पनि कोरोनाकै कारण आयोजना हुन सम्भव भएन । पाकिस्तानले अस्ट्रेलिया र आयरल्यान्डसँग भ्रमण गर्ने तालिका पनि स्थगित भएको थियो । यी देशसँग निश्चित ओभरका खेल खेलाउने तालिका थियो ।

पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख कार्यकारी वासिम खानले खेलाडीको स्वास्थ्यमा जोखिम नमोल्ने प्रतिक्रिया दिए । खेलाडीको स्वास्थ्य अवस्थालाई परीक्षण गर्दै अभ्यास गर्ने तयारी भने गर्न सकिने प्रमुख कार्यकारी खानले थपे । त्यही अभ्यास नै भ्रमणका लागि सहयोगी हुने उनको बुझाइ रहेको छ ।

‘खेलाडीको सुरक्षा विषयमा हामी धेरै सजक हुनुपर्छ,’ प्रमुख कार्यकारी  खानले भने, ‘हामी क्रिकेटमा फर्कन चाहन्छौं । तर खेलाडीको स्वास्थ्यमाथि खेलबाड गरेर फर्किने हाम्रो उद्देश्य होइन ।’

‘आउँदा दिनमा खेल खेल्नका लागि खेलाडी छनोटको संख्या बढ्न सक्छ । सम्भावित विषयलाई नियाल्दै टिमको संख्या बढाउन सकिन्छ,’ खानले थपे, ‘२५ खेलाडीसम्म टिममा समावेश गर्न सकिन्छ । सबैलाई राखेर भ्रमण गर्ने तयारीका साथ अभ्यासमा जुटाउने हो । सम्भवतः एक सातापछि टोलीले अभ्यास थाल्नेछ ।’

तर इङ्ल्यान्डले विदेशी खेलाडी स्वदेश भित्रिएको खण्डमा १४ दिन क्वारेन्टिनमा राख्ने रणनीति बनाएको छ । यस्तै अवस्थामा पाकिस्तानी क्रिकेट बोर्डका लागि तय भएको मिति छोटो हुने देखिएको छ ।

प्रकाशित: १० जेष्ठ २०७७ ०६:५० शनिबार

क्रिकेट