खेल

सिरी ‘ए’ बाँकी सिजन सञ्चालन

प्रधानमन्त्रीद्वारा अधिक ग्यारेन्टी माग

इटालीका प्रधानमन्त्री जियुसेपे कोन्टेले कोरोना भाइरसका कारण प्रभावित सिरी ‘ए’ सञ्चालनमा ल्याउन अधिक ग्यारेन्टी आवश्यक रहेको बताएका छन् ।

दुई महिनादेखि स्थगित सिरी ‘ए’ को सिजन फर्काउन तयारी भइरहँदा इटालीका प्रधानमन्त्री जियुसेपेको त्यस किसिमको भनाइ आएको हो । युरोपमा कारोना भाइरसले धेरै मानवीय क्षति भएको इटालीमा फुटबल खेल फर्काउन प्रयास भइरहको छ । सिरी ‘ए’ क्लबहरूले पनि आगामी जुन १३ देखि खेल सञ्चालन गर्न सुझाव दिइसकेका छन् । इटाली फुटबल फेडेरेसन पनि खेल सञ्चालन गर्नका लागि सरकारको अनुमतिको पर्खाइमा छ । इटाली सरकारले सोमबारदेखि सिरी ‘ए’ क्लबलाई सामूहिक प्रशिक्षणको पनि स्वीकृति दिएको छ ।

यो इटाली सरकारले कोरोना भाइरसको त्रासका कारण कडा लकडाउनका बीच दिएको कठिनपूर्ण निर्णय पनि हो । ‘मे १८ देखि खुद्रा स्टोर्स, हेयर ड्रेसर, रेस्टुरेन्ट, संग्रहालय खोल्नुका साथै फुटबल टोलीको प्रशिक्षणसमेत हुनेछ,’ इटालीका प्रधानमन्त्री कोन्टेले पत्रकार सम्मेलनमा भने, ‘तर नियमको पालना र त्यहाँको अवस्थाअनुरूपमा काम गर्नुपर्नेछ ।’ कोन्टेले फुटबल खेल सञ्चालन गर्न सुरक्षाको प्रत्याभूति आवश्यक पर्ने भन्दै तत्कालै सिरी ‘ए’ सिजन सुरु नहुने संकेत गरेका छन् । इटालीमा फुटबल खेल सुरु गर्ने विषयमा अभैm पनि विभाजन देखिएको छ ।

इटालीका खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले पनि फुटबल सुरु गर्न ग्यारेन्टीको वातावरण सिर्जना हुनुपर्ने बताएका छन् । ‘सिजन सुरु गर्नुभन्दा अगाडि हामीले धेरै ग्यारेन्टीको अवस्था देख्नुपर्ने हुन्छ । तर वर्तमान स्थितिमा त्यस किसिमको वातावरण छैन,’ कोन्टेले भने, ‘आशा गरौं, छिटै हामी खेल सञ्चालनको अवस्थानजिक पुग्नेछौं ।’ इटालियन फुटबल फेडेरेसन (एफआइजिसी)को निर्देशनअनुरूप नै धेरै क्लबका खेलाडीले स्वास्थ्य सुरक्षा विधि अपनाएर व्यक्तिगत प्रशिक्षण गरेका छन् । धेरै क्लबले सरकारले निर्माण गरेको प्रविधि र वैज्ञानिक कमिटीको सबै प्रोटोकलको पूर्ण पालना गर्न कठिन हुने बताइरहेका छन् ।

पहिलो दुई हप्तामा सामूहिक प्रशिक्षणपश्चात् क्लबलाई समितिले दिइएको नियममा रहेर प्रशिक्षण गर्न केही कठिनाइ हुनेछ । सबै खेलाडीलाई सामूहिक प्रशिक्षणपश्चात् प्रशिक्षण केन्द्रमै खाने र बस्ने अवस्था सिर्जना गर्न समितिले निर्देशन दिएको छ, तर सबै क्लबसँग त्यस किसिमको सुविधा नभएकाले कठिनाइ हुनेछ । साथै सरकारले कोरोना पोजिटिभ देखिएमा टोलीका सबै सदस्यलाई क्वारेन्टिनमा बस्न निर्देशित गरेको छ । तर इटालियन क्लबहरू जर्मनीले अपनाएको विधिअनुरूप संक्रमित सदस्यलाई मात्र क्वारेन्टिन राख्ने निर्णयको पक्षमा छन् ।

युरोप फुटबलका ठूलो व्यावसायिक लिग बुन्डेसलिगा सुरु भइसक्दा इटालियन सिरी ‘ए’, ला लिगा र प्रिमियर लिगले पनि सिजन जोगाउने प्रयास गरिरहेका छन् । युरोपको अर्को ठूलो लिग फ्रान्सको लिग वानले भने सिजन रद्द गरिसकेको छ । तर, प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ रद्द गर्नुपर्ने तर्क नआए पनि तत्कालै सुरु गर्न नहुने पक्षमा खेलाडी र केही सरोकारवाला देखिएका छन् ।

सबै खेलाडीलाई सामूहिक प्रशिक्षणपश्चात् प्रशिक्षण केन्द्रमै खाने र बस्ने अवस्था सिर्जना गर्न समितिले निर्देशन दिएको छ, तर सबै क्लबसँग त्यस किसिमको सुविधा नभएकाले कठिनाइ हुनेछ ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:१४ सोमबार

फुटबल