इङ्ल्यान्डका स्पिनर मोइन अलीले राष्ट्रिय टोलीबाट अझै दुई तीन वर्ष खेल्न चाहेको बताएका छन् । अलीले कोरोना भाइरसको महामारीपछि टेस्ट टोलीमा समेत पुनरागमन गर्न चाहेको बताएका हुन् ।
२०१९ अगस्टमा अस्ट्रेलियाविरुद्धको एसेसअन्तर्गत दोस्रो टेस्टमा टोलीमा समावेश नगरिएपछि अफ स्पिनर अलीले टेस्ट खेलेका छैनन् । ‘म कोरोना भाइरसको महामारीपछि टेस्ट टोलीमा फर्कन चाहन्छु । म अझै धेरै खेल्न चाहन्छु,’ अलीले भने । टोलीबाट हटाइएपछि अलीले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने चेतावनी दिएका थिए ।
यद्यपि अहिले भने टोलीले अझै केही वर्ष तीनै संरचनाको खेललाई निरन्तरता दिने बताएका हुन् । ‘म अबको दुई तीन वर्षपछि मात्र खेलजीवनमा पूर्णविराम लगाउँछु,’ अलीले भने, ‘म राष्ट्रिय टोलीलाई अझै योगदान दिन चाहन्छु । मैले केही समय मात्र विश्राम लिएको हुँ । पूर्ण रूपमा खेलबाट अलग भएको भने होइन ।’ अलीले इङ्ल्यान्डबाट ६० टेस्ट, १ सय २ एकदिवसीय र २८ ट्वान्टी २० खेल खेलेका छन् ।
प्रकाशित: ४ जेष्ठ २०७७ ०६:३० आइतबार