खेल

विकास बैंकले एक महिनाको शुल्क नलिने

काठमाडाैँ - सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेपछि विकास बैंकहरुले एक महिनाको निःशुल्क सेवा दिने भएका छन्। कोरोना भाइरसको प्रकोप रोक्न विकास बैंकहरुको छाता संगठनले ग्राहकलाई विद्युतीय भुक्तानीलगायत सुविधा दिने निर्णय गरेको हो।

संघका अनुसार बैंकका ठूला शाखाहरुमा २५ जनाभन्दा बढी भेला हुन सक्ने अवस्था भए पनि कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्न जोड दिएको छ। सर्वसाधारण बैंकसम्म आएर कारोबार गर्नुभन्दा मोबाइल, पिओएस, इन्टरनेट वा एटिएमबाट कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने निर्णय गरेको संघले जनाएको छ।

एक महिनासम्म अनलाइन, इन्टरनेटलगायत सेवा प्रयोग गर्दा शुल्क नलाग्ने निर्णय गरेको संघले जनाएको छ। हाल मुलुकभर २१ विकास बैंक सञ्चालनमा छन्। राष्ट्रिय स्तरका विकास बैंकका प्रमुख कार्यकारीले बिहीबार छलफल गरेका थिए।

प्रकाशित: ७ चैत्र २०७६ ०२:२१ शुक्रबार

विकास_बैंक इन्टरनेट_बैंकिङ