खेल

‘ला लिगाको सिजन पूरा हुनेमा विश्वस्त छौं’

जाभियर टेबास

मड्रिड – स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले यस सिजन पूरा हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।

गत बिहीबार रियाल मड्रिडका सम्पूर्ण टोली नै क्वारेन्टाइनमा गएपछि लिग तत्कालका लागि स्थगित गरिएको थियो। यता भ्यालेन्सियाका पाँच खेलाडी र कर्मचारीमा भने कोरोना संक्रमण पुष्टि भएको थियो। इटालीपश्चात् स्पेन कोरोनाबाट सबैभन्दा प्रभावित युरोपेली राष्ट्र हो। ‘ला लिगाको यस सिजन पूरा हुनेमा म ढुक्क छु। हामी त्यहीअनुसारको तयारीमा जुटेका छाैँ,’ टेबासले भने, ‘मैले इटाली र जर्मनीमा पनि सम्पर्क गरिरहेको छु।

मंगलबार बस्ने बैठकले युरो २०२० का बारेमा आउने निर्णयपछि मात्र आगामी कार्यक्रम सार्वजनिक गर्ने सहमति भएको छ। युरो कप सारिएको खण्डमा लिगहरू पूरा गर्न कुनै कठिनाइ हुनेछैन। प्रतियोगिता यथावत् रहेमा भने सिजन सम्पन्न गर्न कठिनाइ हुन सक्छ।’ ‘सबै स्वास्थ्य रहनु अहिलेको प्राथमिकता हो। सिजन नै रद्द गरिएमा ला लिगाको आमदानी पनि कमी हुनेछ,’ टेबासले भने, ‘क्लबको बजेटको बारेमा पनि पुनर्विचार गरिनेछ। तर, सिजन पूरा हुनेमा भने म अझै पनि विश्वस्त छु।’

प्रकाशित: ७ चैत्र २०७६ ०१:४८ शुक्रबार

क्वारेन्टाइन ला_लिगा