खेल

सिरी ‘ए’ का ११ खेलाडीलाई कोरोना

रोम – विश्वकप विजेता फ्रान्स टोलीका सदस्य तथा युभेन्ट्सका मिडफिल्डर ब्लेज माथुडी र हेलास भेरोनाका मातिया जाकाग्नीलाई कोरोनाको पोजेटिभ देखिएको इटालियन सिरी ‘ए’ क्लबले मंगलबार पुष्टि गरेको छ।

‘माथुडीको स्वास्थ परीक्षणका क्रममा कोरोना (कोभिड–१९) देखिएको छ,’ इटालियन च्याम्पियन युभेन्ट्सले बतायो। संक्रमण भएका माथुडी आफैँ आइसोलेसनमा छन। ३२ वर्षीय माथुडी कोरोना संक्रमित हुने युभेन्ट्सको दोस्रो खेलाडी हुन्। यसअघि क्लबका सेन्ट्रल डिफेन्डर डानिएल रुगानीलाई कोरोना भएको थियो। माथुडी २०१८ मा फ्रान्सलाई विश्वकप फुटबलको उपाधि जिताउने टोलीका सदस्य हुन्। त्यसपछि सम्पूर्ण टोली क्वारेन्टाइनमा रहेको छ। यससँगै समग्रमा १३ सिरी ‘ए’ लिगका खेलाडीलाई कोरोनाको संकेत देखिएको छ। सात खेलाडी साम्पडोरिया र तीन फियोरिन्टनाका खेलाडी रहेका छन्। यस्तै २४ वर्षे जाकाग्नीलाई साम्पडोरियासँग गत मार्च ८ मा भएका खेलपछि कोरोनाको संकेत देखिएको थियो।

‘जाकाग्नीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ। सामान्य ज्वरो देखिएको थियो,’ इटालियन सिरी ‘ए’ लिगको आठौं स्थानमा रहेको हेलास भेरोनाले भनेको छ, ‘टोलीका सबै सदस्य मार्च २५ सम्म  घरको आइसोलेसनमा रहेका छन्। अभ्यास सुचारु भने अनिश्चित छ।’ माथुडीले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत स्वास्थ्यलाभको कामना गरेका छन्। ‘जटिल समय हो। सुरुआतमा यो महामारीलाई गम्भीर रूपमा लिएको थिइन्। कोरोनाको महामारीले इटालीलाई पनि नराम्रोसँग धक्का लागेको छ,’ माथुडीले इन्स्टाग्राममा भनेका छन्। कोरोना भाइरसका कारण इटालीमा २५ सय भन्दा बढीको ज्यान  गएको छ भने ३१ हजार भन्दा बढी कोरोनाको संक्रमणमा परेका छन्।

प्रकाशित: ७ चैत्र २०७६ ०१:२८ शुक्रबार

खेलाडी कोरोना