खेल

कोरोनालाई सामान्य नलिन चेतावनी

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब उल्भरह्याम्पटनका प्रमुख जेफ सीले फुटबल समर्थकसामु कोरोना भाइरसलाई सामान्य रूपमा नलिन चेतावनी दिएका छन्। सीले उहानबाट सुरु भएको कोरेना भाइरस आतंकपछि पनि आफू भने चीनमा रहेका आफन्त र साथीभाइसँग अहिले पनि  निरन्तर सम्पर्कमा रहेको बताएका छन्।

‘म हाम्रा समर्थकमाझ सावधानी अपनाउन आग्रह गर्न चाहन्छु। यो हाम्रा लागि कठिन र परीक्षणको समय हो,’ सीले भने, ‘सबैले सावधानी अपनाऔं।’ सीले मोनुलक्स रंगशाला बन्द गरिनुका साथै क्लबको पसल र टिकट काउन्टरसमेत बन्द गरिएको बताएका छन्।

इङ्लिस प्रिमियर लिगले अप्रिल ३ सम्मका सम्पूर्ण खेल रद्द गरेको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाका कारण विश्वका १ सय २३ राष्ट्रका १ लाख ३२ हजार ५ सय जना संक्रमित भएको जनाएको छ। डब्लुएचओले चीनको उहानबाट सुरु भएको कोरोना अहिले भने युरोपेली राष्ट्रमा महामारीको रूपमा फैलिरहेको जनाएको छ।

‘कुनै पनि भाइरसलाई सामान्य रूपमा नलिन आग्रह गर्न चाहन्छु। सबैले सरसफाइ र सावधानीमा ध्यान दिन आवश्यक छ,’ सीले भने, ‘हामीले पनि अहिले क्लबका सम्पूर्ण कर्मचारीलाई बिदा दिइसकेका छाैं। क्लब बन्द रहे पनि उनीहरूको तलबमा भने कुनेै कटौती गरिने छैन।’ ‘सर्तक रहौं र कुनै जोखिम नउठाऔं,’ उनले भने, ‘आशा गरांै हामी चाँडै स्वाभाविक जीवनशैलीमा फर्कन सकाैं।’

प्रकाशित: ४ चैत्र २०७६ ०२:०८ मंगलबार

कोरोना फुटबल_समर्थक