खेल

इङ्लिस प्रिमियर लिग अप्रिल ४ सम्म रद्द

लन्डन – आर्सनलका म्यानेजर मिचेल अर्टेटा र चेल्सीका विंगर कालुम हडसन–ओडिओईमा कोरोना भाइरस संक्रमण भेटिएसँगै इङ्लिस प्रिमियर लिगले अप्रिल ४ सम्मका लागि सबै खेलतालिका रद्द गरेको छ। ‘कोरोना भाइरसको संक्रमण फैलने क्रास बढेसँगै सबैको स्वास्थ्यलाई ध्यानमा राख्दै सेयरहोल्डरसँग आजको बैठकपछि तत्कालका लागि लागु हुनेगरि इङ्लिस प्रिमियर लिग खेल तालिकाहरू रद्द गरिएको छ। अप्रिल ४ पछि मात्र नयाँ तालिका सार्वजनिक गरिनेछ,’प्रिमियर लिगले शुक्रबार जारी गरेको विज्ञप्तीमा भनिएको छ।

एभर्टनले पनि खेलाडीमा कोभिड–१९ को लक्षण देखिएको आशंका गरिएसँगै पहिलो रोजाइको टोलीका साथै सबै प्रशिक्षण टोलीलाई घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ। त्यस्तै लेस्टर सिटीका तीन खेलाडी तथा बर्नमाउथका गोलकिपर अर्टुर बारोससहित चार कर्मचारीलाई आइसोलेसनमा राखिएको छ। ‘खेल तालिका रद्द भएका छन्। हामी यससँगै मिचेल अर्टेटा र चेल्सीका विंगर कालुम हडसन–ओडिओइका साथै सबैलाई शीघ्र स्वास्थ लाभको कामना गर्दछाैँ,’प्रिमियर लिगका प्रमुख रिचार्ड मास्टर्सले भने, ’यो असहज परिस्थितिमा पनि हाम्रा क्लब, सरकार, फुटबल संघ र इएफएलका सबै खेलाडी, समर्थक र क्लब पदाधिकारीको स्वास्थ्यमा सचेत रहेको बताउन चाहँन्छौं।’

त्यस्तै इङ्ल्यान्डले यसै महिना इटाली र डेनमार्कविरुद्ध खेल्ने दुई अतर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि रद्द गरिएको छ। ‘कठिन चुनौतीका बाबजुद पनि हामी नयाँ खेलतालिकाका साथ प्रिमियर लिगको समापन गर्न प्रतिबद्ध गरेका छाैँ,’विज्ञप्तीमा भनिएको छ। आर्सनलका म्यानेजर मिचेल अर्टेटा र चेल्सीका विंगर कालुम हडसन–ओडिओईमा कोरोना भाइरस संक्रमण भेटिँदा अन्य क्लबका खेलाडी तथा पदाधिकारीमा पनि लक्षण देखा परेपछि इङ्लिस प्रिमियर लिगले अप्रिल ४ सम्मका लागि खेलतालिका रद्द गरेको छ।

प्रकाशित: १ चैत्र २०७६ ०१:५८ शनिबार

प्रिमियर_लिग रद्द