खेल

मध्यपहाडी मार्गमा पुल बनाउन माग

दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पुल निर्माणको माग गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्त नेम्वाङ समक्ष पुगेका प्रतिनिधिसभा सांसद बिशाल भट्टराई लगायत। तस्बिर : नागरिक

खोटाङ – खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा तत्काल तीन वटा पुल निर्माणको माग गरेका छन्।

बुधबार भौतिक पुर्वाधार तथा यातायात मन्त्री बशन्त नेम्वाङलाई लिखित ज्ञापनपत्र बुझाउँदै प्रतिनिधिसभा सदस्य भट्टराईले खोटाङको दिक्तेल–माम्खा सडक खण्डको भालु खोला, मेवा खोला र छेपे खोलामा तत्काल पुल निर्माणको माग राखेका हुन्। दिक्तेल–माम्खा सडक खण्डमा कालोपत्रे भइसक्दा सो खण्डका तीन खोलामा निर्माण गर्नुपर्ने पुलको काम अघि नबढेकाले आवाज उठाउनु परेको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए।

दुई–तीन वर्षअघि पुलका लागि सर्भे गरिए पनि डिजाईन स्वीकृतिमा भएको ढिलाईका कारण तीन खोलामा पुल निर्माणको काममा ढिलाइ भएको जनाइएको छ। सडक कालोपत्रे भइसक्दा सोही सडकमा पर्ने खोलामा पुल नहुँदा आवत–जावत गर्ने यात्रुलाई सास्ती भएकाले तत्काल पुल बनाउनकालागि कारबाही अघि बढाउन माग गरिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए। दिक्तेल–चखेवाभञ्ज्याङ सडककै माम्खा–दारुला सडक खण्डको भालु खोलामा रि–डिजाईन स्वीकृत गरेर पुल निर्माणको काम अघि बढाइएको छ। पुरानो डिजाईन अनुशारको पुल बनाउँदा भुलभुले देउधामलाई अशर गर्ने देखिएपछि पुलको डिजाईन नै परिवर्तन गरिएको हो। रि–डिजाईनका कारण पुल निर्माणको काम झण्डै वर्ष दिन पछि धकेलिएको छ।

खोटाङको दिक्तेल–माम्खा सडक खण्डको भालु खोला, मेवा खोला र छेपे खोलामा तत्काल पुल निर्माणको माग राखेका हुन्।

यस्तै, दारुला–पेलुङ सडक खण्डको पंखु खोलाको पुल ठेकेदारको कारण अलपत्रकै अवस्थामा छ। २ करोड २९ लाखमा सिरुवा कन्ट्रक्सनले जिम्मा लिएको पुलको काम डेढ वर्षदेखि नै अलपत्र छ। १५ मिटर लम्बाई भएको पुलको काम अलपत्र पारेपछि १५ दिने सुचना प्रकाशन गरेपछि सिरुवा कन्ट्रक्सनले पुःन आफ्नो प्रतिनिधि पठाएको मध्यपहाडी सडक आयोजना पुर्वी खण्डका ईन्जिनियर दिपक खड्काले बताए। दारुला–पेलुङ सडक खण्डमा पर्ने लप्सेखोला र दाम्दे खोला, पेलुङ–सेखुवा सडक खण्डको साप्सु खोलाको पुल भने तयार भइसकेको छ। म्याद गुज्रिदा पनि दिक्तेल–चखेवाभञ्ज्याङ (४६ किलोमिटर) सडकको कालोपत्रेका काम पूरा हुन सकेको छैन। विभिन्न पाँच खण्डमा बिभाजन गरेर २०७२ साल चैतदेखि विभिन्न खण्डमा कालोपत्रेका विभिन्न चरणका काम थालिए पनि निर्माण कम्पनीले सम्झौता मिति गुजारेको हो।

रमन–गोल्डेन गुड जेभीले जिम्मा लिएको दिक्तेल–चखेवाभञ्ज्याङ अन्तरगत दिक्तेल–नेर्पा माम्खा (९ किलोमिटर), माम्खा–दारुला (९ किलोमिटर), दारुला–पेलुङ (८ किलोमिटर) र पेलुङ–सेखुवा च्यानडाँडा (१० किलोमिटर) सडक खण्डको म्याद गुज्रिसकेको छ। २ वर्षभित्र पूरा गर्नेगरी आर्थिक वर्ष २०७१/०७२ मा टेण्डर भएपछि काम अघि बढाइएको अधिकांश सडक खण्डको काम भने निरासाजनक देखिएको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०५:०६ शुक्रबार

खोटाङ लोकमार्ग