खेल

ब्वाइज युनियन पुलिससँग स्तब्ध

सर्लाही - ब्वाइज युनियन क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार नेपाल पुलिस क्लबसँग ३–० ले स्तब्ध भएको छ।  जितसँगै पुलिसले प्रतियोगिताको अन्तिम चारमा स्थानमा सिट सुरक्षित गर्‍यो। खेलको ४६औं मिनेटमा पुलिसका तीर्थ रानाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। पृथ्वी चौधरीको क्रस पासलाई सशक्त प्रहार गर्दै रानाले ब्वाइज युनियनको जाली चुमाउन चुकेनन्।

त्यस्तै खेलको ७८औं मिनेटमा कर्नर बललाई पदम भट्टराईले गोलमा परिणत गर्दा पुलिसको खातामा दुई गोल पुग्यो। राम वाजीले प्रहार गरेको कर्नर बललाई भट्टराईले सुन्दर हेडमार्फत गोल गरे। खेलको अन्तिम मिनेटमा विशाल बस्नेतले डी बक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएसँगै पुलिसको जित सुनिश्चित बन्यो। ब्वाइज युनियनका गोलकिपर रोहित कार्की पुलिसका अर्का खेलाडीले अगाडि बढाएको बल खोस्न डी बक्सबाहिर गएको बेला फुत्किएको बललाई बस्नेतले डी बक्सबाहिरबाट सशक्त प्रहार गर्दै गोलमा परिणत गरे। राम वाजीको स्थानमा खेलको ८७औं मिनेटमा मैदान छिरेका बस्नेतले ९०औं मिनेटमा गोल गरेका हुन्।

खेल अवधिभर पुलिसको तुलनामा ब्वाइज युनियन फिका देखिएको थियो। पुलिसका खेलाडीले थप आधा दर्जन गोलपोस्ट आक्रमण गरेका थिए। पुलिसको तुलनामा ब्वाइज युनियनको तर्फबाट भने गोलपोस्ट आक्रमण हुन सकेन। खेलको म्यान अफ दी म्याच पुलिसका पदम भट्टराई घोषित भए। भट्टराईले ट्रफीसहित नगद १० हजार र एकजोर बुट प्राप्त गरे। सर्लाही निवासी पूर्व राष्ट्रिय खेलाडी जुमानु राईको कप्तानी एवं पूर्व राष्ट्रिय डिफेन्डर रविन श्रेष्ठसहित पुलिसबाट दोस्रो रोजाइका खेलाडी मैदानमा उत्रिएका थिए।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:४६ बिहीबार

फुटबल ब्वाइज_युनियन