खेल

तेक्वान्दो विजेतालाई सम्मान

१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता निशा दर्नाललाई सम्मान गरिदै। तस्बिर:नागरिक

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता निशा दर्नाललाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले सम्मान गरेको छ।

जावलाखेलमा एक कार्यक्रमको आयोजना गर्दै डोजाङले गत मंसिरमा घरेलु मैदानमै सम्पन्न १३औं सागमा स्वर्ण विजेता तेक्वान्दोकी निशालाई नगदसहित सम्मान गरेको हो। आफ्नै डोजाङबाट उत्पादित खेलाडीलाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले नगदसहित सम्मान गरेको हो। प्रमुख अतिथि प्रदेश–३ का सांसद राजकाजी महर्जन र डोजाङ प्रमुख थानेश्वर दर्लामीमगरले स्वर्ण विजेता निशालाई नगद ५० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए। निशाले १३औं सागमा महिला टिम पुम्सेतर्फ १७ देखि २३ वर्ष उमेरसमूहमा नेपाललाई स्वर्ण दिलाएका थिइन्।

निशासहित स्वस्तिका तामाङ र सन्जिला तिमिल्सेनाको टोलीले स्वर्ण दिलाएका थिए। गत सागमा नेपालको तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य गरी कुल २९ पदक जितेको थियो। जसमा नेपालले पुम्सेतर्फ सात स्वर्ण, एक रजत र पाँच कांस्य तथा फाइटमा पाँच स्वर्ण, पाँच रजत र ६ कांस्य पदक जित्न सफल भएको थियो। सोही सागमा नेपाललाई सफलता दिलाउन योगदान पुर्‍याएका नेपाली टोलीका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ, टीकाप्रसाद लिम्बु, नोर्बु लामा, हीराबहादुर थापा, संगीना वैद्य र दीपक विष्टलाई सम्मान गरिएको थियो।

उनीहरू प्रदेश–३ का सांसद राजकाजी महर्जन, न्यु जावलाखेल तेक्वान्दो डोजाङका प्रमुख थानेश्वर दर्लामीमगर र नेपाल तेक्वान्दो संघ प्रदेश–३ का अध्यक्ष केशव पुरीलगायतले सम्मानपत्र प्रदान गरेका थिए। सोही अवसरमा सांसद महर्जनले स्थानीय क्षेत्रबाट खेलाडीलाई प्रोत्साहन हुन सके मात्र देशका लागि क्षमतावान् खेलाडी उत्पादन हुने बताउँदै प्रदेश सरकारले पनि हरेक निर्वाचन क्षेत्र केन्द्रित खेलविकास रणनीति अपनाइरहेको उल्लेख गरेका थिए।

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:२९ आइतबार

तेक्वान्दो विजेता सम्मान