खेल

ओसिस र हिमालयन विजयी

काठमाडौं – ओसिस क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीले काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा शुक्रबार जित निकालेका छन्।

मूलपानी क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगितामा समूह ‘सी’ को ओसिसले यङ्गाल क्रिकेट क्लबमाथि २१ रन र समूह ‘डी’ हिमालयनले फरएभर क्रिकेट ब्वाइज क्लबमाथि डिएल मेथडको आधारमा ४४ रनको जित निकालेका हुन्। समूहको पहिलो खेलमा महावीर क्लबसँग हार बेहोरेको यङ्गालले समूहचरणबाटै प्रतियोगिताको यात्रा टुङ्गायो। यस समूहको अन्तिम खेलमा महावीर र ओसिसबीचको विजेताले नै सेमिफाइनलको यात्रा तय गर्नेछ। १ सय ५८ रनको लक्ष्य पछ्याएको यगल क्रिकेट क्लबले २२.१ ओभरमा अलआउट हुँदा १ सय ३६ रन मात्र बनाएपछि ओसिसले सहज जित निकाल्यो। ओसिस सन्देश कार्कीले यादगार बलिङ गर्दै ६ विकेट लिएपछि यगलका शीर्षक्रम बाहेक अन्य क्रिजमा टिक्नै सकेनन्।

घातक बलिङ गरेका सन्देशले चार ओभरमा दुई मेडन राख्दै ६ रन मात्र खर्चिए। यगलका दीपेश दासले सर्वाधिक ४० रनको योगदान दिँदा पंकज कोइरालाले ३८ रन, लक्ष्मण प्रधानले १८ रन र विजय बराकोटीले १६ रन बनाए। ओसिसका आनन्दु काफ्ले, सचिन शर्मा र आयुष बानियाँले समान १/१ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको ओसिसले निर्धारित २५ ओभरमा अलआउट हुनुअघि १ सय ५७ रन बलियो योगफल तयार पारेको थियो। ओसिसका सचिन शर्माले आक्रामक ब्याटिङ गर्दै ७५ रन बनाए। उनले ६८ बल खेल्दै ८ चौका प्रहार गरे। आशिष भट्टराईले २६ रन र सुदीप बस्नेतले १८ रन बनाएका थिए। यगलका प्रमेसविक्रम डिसीले चार विकेट लिँदा राम प्रधानले दुई तथा अभिलास अधिकारी र श्याम त्रिपाठीले १/१ विकेट निकाले।

वर्षाले प्रभावित दोस्रो खेलमा डिएल मेथडको आधारमा १ सय ५५ रनको लक्ष्य पछ्याएको फरएभेर क्रिकेट क्लबले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाएपछि हिमालयनले फराकिलो जित दर्ता गर्‍यो। कुल १२ टोलीलाई चार समूह विभाजन गरी खेलाइएको प्रतियोगितामा प्रत्येक समूहको शीर्ष चारले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: २४ फाल्गुन २०७६ ०१:३० शनिबार

विजयी क्रिकेट