खेल

सहाराको विजयी सुरुआत

सन्देश श्रेष्ठ/धन बस्नेत
पोखरा - दश खेलाडीमा सीमित आयोजक सहारा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३–२ ले पराजित गर्दै आहा ! रारा गोल्डकपमा विजयी सुरुआत गरेको छ। पहिलो हाफको २६ मिनेटमै आयोजक सहारा १० खेलाडीमा सीमित भएको थियो। सहाराका जीवन रायमाझीले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो। उनले खेलको ९ र २६ मिनेटमा पहेंलो कार्ड खाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले रातो कार्ड दिँदै मैदानबाहिर पठाएका थिए।

ब्रिगेड ब्वाइजले ५८औं मिनेटमा खाता खोल्दै अग्रता लिएको थियो। अफ्रिकन खेलाडी कजिम ए. बुसारीको पासमा अनमार्क रहेका राजेश परियारले ‘क्लिनिकल्ली फिनिसिङ’ गर्दै ब्रिगेडलाई अग्रता दिलाए। सहाराले चार मिनेटपछिा बराबरी गोल फर्कायो। कमल थापाको फ्रिकिकलाई  सहाराका सिइवे उरिचले कडा प्रहार गर्दै गोलमा परिणत गरे। उत्कृष्ट पुनरागमन गरेको सहाराको खुसी भने १ मिनेट पनि टिकेन। ब्रिगेडले ६३औं मिनेटमा गोल गर्दै पुनः अग्रता लियो।

अनिल गुरुङको प्रहारमा सहारा क्लबको डिफेन्सबाट रिफ्लेक्ट बललाई गोलकिपरले पन्च गर्ने प्रयास गरे। एक हातले पन्च गरे पनि पेनाल्टी बक्सभित्र खसेको बललाई लेफ्ट विङ्गर विजय गुरुङले सेकेन्ड बार च्याप्दै गोल गरे। सहाराले ७९ मिनेटमा दोस्रो पटक बराबरी गोल फर्कायो। त्रिदेव गुरुङले गोल गर्दै सहारालाई फेरि एकपटक आशा जगाए। निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकियो।

निर्धारित समयसम्म बराबरी भएपछि थपिएको दोस्रो हाफको ३ मिनेटमा सहाराले निर्णायक गोल ग¥यो। सहाराका गोलरक्षक अर्पण कार्कीले प्रहार गरेको फ्रिकिकलाई त्रिदेवले हेडर गोल गर्दै सहाराको जित सुनिश्चित गरे। सहारा क्लवका त्रिदेव गुरुङ म्यान अफ दी म्याच घोषित भए।

प्रकाशित: २३ फाल्गुन २०७६ ०१:४१ शुक्रबार

खेलाडी विजयी