खेल

असरक र शंकरनगर विजयी

भैरहवा -  बंगलादेशको असरक स्पोर्ट्स क्लब र शंकरनगर क्रिकेट क्लबले जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेटमा आइतबार जित निकालेका छन्। सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा असरकले वेस्टर्न क्रिकेट क्लबलाई ४३ रन र शंकरनगरले पाकिस्तानको गुजरात लायन्सलाई ९ विकेटले हराउँदै सफलता प्राप्त गरेका हुन्। १ सय २४ रनको लक्ष्य पाएको वेस्टर्नले १५.५ ओभरमा ८० रन बनाउँदा सबै विकेट गुमाएपछि असरकले सहज जित दर्ता गर्‍यो। वेस्टर्नका प्रदीप ऐरीले २३ रन र सुमित महर्जनले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। असरकको बलिङमा अली समदले तीन विकेट, मोहम्मद सज्जाद हुसैनले २ र निकोलस विल्सन, ओस्कर कोल्क र मन्नान चाउलाले १/१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको असरक स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको  थियो। असरकका अली समदले सर्वाधिक ४८ रन, ओस्कर कोल्कले २० र हमिद अहमदजाईले १५ रनको योगदान गरे। वेस्टर्नको बलिङमा कृष्ण कार्की र हरजित सिंहले २/२ तथा विक्रम एसओबी, सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए। असरकका अली समद म्यान अफ दी म्याच घोषित भए। आइतबारकै दोस्रो खेलमा शंकरनगरले पाकिस्तानको गुजरात लायन्सलाई ९ विकेटले पराजित गर्‍यो। ९४ रनको झीनो लक्ष्य पछ्याएको शंकरनगरले १२.३ ओभरमा मात्र १ विकेट गुमाउँदै लक्ष्य पार गर्‍यो। शंकर रानाले ३७ रन र देव खनालले २३ रनको अविजित योगदान दिए। गुजरातको बालिङमा मजिद इलियासले एक विकेट लिए।

त्यसअघि गुजरातले १८.३ ओभरमा सम्पुर्ण विकेट गुमाउँदा ९३ रन मात्र बनाएको थियो। गुजरातका जाफर जम्सेदले २५, सयद इसरार शाहले २१ रन, बकर अजिम र इलियास जाजाले १२ रन बनाए। शंकरनगरको बलिङमा विक्रम भुसालले तीन विकेट लिँदा अनिल खरेल, सन्दीप सुनार, दुर्गेश गुप्ताले २/२ र सुरज दराईले एक विकेट निकाले। शंकरनगरका विक्रम भुसाल म्यान अफ दी म्याच भए। भैरहवा क्विन्स प्रालिको आयोजना र राइनो स्पोर्ट्सको संयोजनमा भैरहवास्थित सिद्धार्थ रंगशालामा पहिलो पटक भइरहेको अन्तरदेशीय टी–ट्वान्टी प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका ८ वटा व्यावसायिक क्लबले प्रतिस्पर्धा गर्दै छन्।  सोमबारको पहिलो खेल सराह क्रिकेट क्लब चेन्नई र राइनोज क्रिकेट क्लब काठमाडौं र दोस्रो खेल अल्फा वारियर्स मुम्बई र वेस्टर्न क्रिकेट क्लब बुटवलबीच हुने रूपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले बताए।

प्रकाशित: १९ फाल्गुन २०७६ ०२:०० सोमबार

क्रिकेट ट्रफी जित