खेल

बाँसबारीको लगातार दोस्रो जित

काठमाडौं – बाँसबारी फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आइतबार मध्यपुर युथ एसोसिएसनमाथि ५–२ को जित निकालेको हो।  पहिलो हाफमा ४–१ को अग्रता बनाएको बाँसबारीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो। बाँसबारीका लागि  सुलेमान थापा मगर र सजिन थापा मगरले दुई/दुई गोल गर्दा सुरेश कुमालको नाममा एक गोल रह्यो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको मध्यपुरका लागि धीरज श्रेष्ठ र सन्नी लामाले एक/एक गोल फर्काएका थिए।

बाँसबारी हाबी भएको खेलमा सुलेमानले पहिलो मिनेटमा गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि सजिनले छैटौं मिनेटमा गोल थप्दै टोलीको अग्रता दोब्बर पारेका थिए। ११औं मिनेटमा पुनः सुलेमानले गोल गर्दै अग्रता ३–० मा पुर्‍याएका थिए। १५ मिनेटको खेलपछि सम्हालिएको खेल देखाएको मध्यपुरले १९औं मिनेटमा धीरजले गोल गर्दै बाँसबारीको अग्रता छोट्याएका थिए। पहिलो हाफको इन्जुरी समयमा सजिनले गोल गर्दै अग्रता ४–१ मा पुर्‍याएका थिए। अग्रता बनाइसकेको बाँसबारीले ७०औं मिनेटमा सुरेश कुमालले अग्रता ५–१ मा पुर्‍याउँदा ८५औं मिनेटमा सन्नी लामाले गोल गर्दै अग्रता ५–२ मा छोट्याए पनि हारलाई टार्न सकेनन्।

आइतबारको जितसँगै बाँसबारीले ३ खेलमा ९ अंक जोडेको छ।  बाँसबारी शीर्ष स्थानमा फर्किएको छ। यसअघि बाँसबारीले पहिलो खेलमा श्री भगवती क्लब र दोस्रो खेलमा ब्वाइज युनियन क्लबलाई पराजित गरेको थियो। यता मध्यपुरको भने यो लगातार तेस्रो हार हो। पहिलो खेलमा मध्यपुर खुमलटार युथ क्लब र दोस्रो खेलमा श्री भगवती क्लबसँग पराजित भएको थियो। १२ क्लबको सहभागिता रहेको लिग आगामी चैत २३ गतेसम्म चल्नेछ। लिगमा सोमबार पुलचोक स्पोर्ट्स क्लब र ब्वाइज युनियनबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १९ फाल्गुन २०७६ ०१:५५ सोमबार

‘बी’_डिभिजन_लिग राजधानी जित