खेल

खेलकुदले आपसी सद्भावको विकास गर्छ : प्रधानसेनापती थापा

सिन्धुली- नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द्र थापाले खेलकुदले आपसी सद्भावको विकास गर्ने बताएका छन्। उनले खेलकुदले सम्पूर्ण नेपालहरुबीच आपसी सद्भाव र भाइचाराको विकास गरि एकबद्ध बनाउन सकिने बताएका छन्।

भ्रमण वर्ष २०२० तथा सेना दिवसलाई लक्षित गरि जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीद्धारा आयोजित प्रथम सिन्धुलीगढी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्र्दै सेनापती थापाले खेलकुदको आयोजनाले पर्यटन प्रर्बद्धन र आन्तरिक पर्यटक बढाउन टेवा पुर्‍याउने धारणा राखे। सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताले पनि सिन्धुली जिल्लामा राष्ट्रियता र एकताको सन्देश प्रवाह गर्न सकिने बताउदै नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

सेना दिवसको अवसर पारेर सुरु गरिएको खेल वर्षेनी निरन्तरता दिने आयोजकले बताएसँगै आफू हर्षित भएको सेनापती थापाको भनाई थियो। जनस्तरबाट नेपाली सेनाप्रतिको स्नेह र सम्मानले सिन्धुली जिल्लामा सेना र नागरिक सम्बन्धको अनुपम उदाहरण प्रस्तुत भएको बताए। यस्ता कार्यका लागि जङगी अड्ना पृतना तथा बाहिनी र गणको पूर्ण साथ सहयोग रहनेछ, उनले भने, सिन्धुलीगढीकै कारण नेपाल, नेपाली र नेपाली सेना रहेका छौ, यो स्थानलाई कुनैपनि नेपाली दाजुभाईले विर्सनु हुँदैन। नेपाली सेनाले ऐतिहासिक सिन्धुलीगढी र हरिहरपुरगढी संरक्षण गर्न स्थानीय निकायहरुसँग हातेमालो गर्दै निरन्तर सहयोग र समन्वय गर्दै आएको हामीमाझ छलङगै छ, उनले भने, सिन्धुलीगढीमा बन्न लागेको ऐतिहासिक युद्ध संग्रहालय तथा पदमार्गहरुले पर्यटन प्रर्बद्धनमा नयाँ आयाम थप्ने बताए।

भ्रमण वर्ष २०२० को अवसरमा र सैनिक दिवसलाई लक्षित गरी शुक्रबारदेखि सिन्धुलीमा सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। फागुन १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १५० टिमले सहभागिता जनाउने प्रतियोगिता मुल समारोह समितिका संयोजक छेत्र बम्जनले जानकारी दिए। उनका अनुसार मेन्स सिङगल, मेन्स डबल, मिक्स डबल र भेट्रान डबलसहित चार ईभेन्टमा उक्त प्रतियोगिता सञ्चालन हुने छ।

जिल्ला व्याडमिन्टन संघका अध्यक्ष मिनकुमार दाहालका अनुसार मिन्स सिङगल टिममा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ र तृतिय हुनेले १५ हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र पाउने छन्।

त्यस्तै मेन्स डबल टिममा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतिय हुनेले २० हजार रुपैयाँ नगदसहित पदक तथा प्रमाणपत्र पाउने छन्। यस्तै मिक्स डबल टिममा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ र तृतिय हुनेले १० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र पाउने छन्। भेट्रान्स डबल टिममा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतियले १५ हजार रुपैयाँ नगद तथा पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।

 

प्रकाशित: १६ फाल्गुन २०७६ ११:३८ शुक्रबार

खेलकुद सद्भाव विकास