खेल

तीर्थले पाँचौ पटक जिते धरान रनको उपाधि

प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीमा महिला र पुरुषतर्फका विजेताहरु । तस्बिर : रोहित राई

धरान- प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटी दौड प्रतियोगितामा खुला पुरुषतर्फ बाग्लुङका तीर्थ पुन विजेता भएका छन्। महिलातर्फ सन्तोषी श्रेष्ठ विजेता भइन्।

शनिबार धरानमा सम्पन्न १० किलोमिटर दुरी ३१ मिनेट २५ सेकेण्डमा पार गर्दै तीर्थ विजेता भएका हुन्। तीर्थको लगातार यो दौड प्रतियोगितामा पाँचौ पटक विजेता भएका हुन्। नेपालको सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता उनी तेस्रो संस्करणदेखि विजेता हुँदै आएका छन्। पुन भारतीय सेनामा खेलाडीको रुपमा छन्। उनको पल्टन ५/५ गोर्खा राइफल हो।

१२ वर्षअघि भर्ती लागेका उनी हवल्दार छन्। पल्टन आसामको रंगियामा भएपनि पुन हैदरावादमा तालिममा छन्। पुरुषतर्फ  लक्ष्मण मल्ल दोस्रो भए। उनले ३१ मिनेट ३३ सेकेण्डमा दुरी पार गरे। यस्तै, खिमबहादुर खत्रीले ३१ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए। दुवै सशस्त्र प्रहरीका खेलाडी हुन्।

महिलातर्फ धादिङकी सन्तोषीले ३४ मिनेट २३ सेकेण्डमा दुरी पार गरिन्। उनी गत १३ औं सागकी स्वर्ण पदक विजेता पनि हुन्। सन्तोषीको दोस्रो पटक विजेता भएकी हुन्। उनी चौथो संस्करणमा पनि प्रथम भएकी थिइन् भने ३ पटक दोस्रो स्थानमा रहेकी थिइन्। महिलातर्फ राममाया पुनले ४० मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भइन् भने छेम्बी राईले ४२ मिनेट २ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन्। महिला र पुरुषतर्फका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगदसहित ट्रफी हात पारे।

यसैगरि १६ वर्षसम्मको प्रतिस्पर्धामा महिलातर्फ जुम्लाकी वन्दना बुढा प्रथम भइन् भने क्रिष्टिना राई दोस्रो र प्रसंसा वन तेस्रो भइन्। पुरुषतर्फ किरण लिम्बु प्रथम, सियन राई दोस्रो र रोजन राई तेस्रो भए। यस्तै, भेट्रानतर्फको पुरुषमा दिलबहादुर श्रेष्ठ प्रथम, धर्म मर्हजन दोस्रो र सुवर्ण सुब्बा तेस्रो भए भने महिलातर्फ दार्जिलिङका छिरिङ लमु प्रथम, भीममाया राई दोस्रो र गीतादेवी लिम्बु तेस्रो भइन्।

यस्तै १२ वर्ष मुनिको उमेर समूहमा पुरुषतर्फ अनिष लिम्बु प्रथम, सुजन राई दोस्रो र दिवस राई तेस्रो भए भने महिलातर्फ प्रश्ना भण्डारी प्रथम, इसिका तामाङ दोस्रो र कुसुम राई तेस्रो भइन्। १२ वर्ष मुनिका बालबालिकाहरुलाई ३ किलोमिटर मात्र दौड गराइएको थियो। १६ वर्षसम्म, १२ वर्षमुनिका र भेट्रानतर्फका प्रथम, दोस्रो र तेस्रो खेलाडीहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजारसहित ट्रफी दिइएको थियो।

विजेताहरुलाई धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, बिशिष्ट अतिथि एवं मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडालगायतले पुरस्कार वितरण गरेका थिए। दौडमा ४ हजार बढीले भाग लिएको आयोजकले जनाएको छ। यसपाली भारत र वंगलादेशबाट पनि खेलाडीहरु सहभागी भएका थिए।

वर्षेनी आयोजना हुने दौडमा हङकङ र युकेबाट धरानेहरु पनि सहभागी भइरहेका छन्। यो दौड स्वास्थ्य रहने सन्देश दिन र बालबालिकाहरुको शिक्षाको लागि सहयोग जुटाउन आयोजना गरिएको हो। त्यसैले साना बालबालिकाहरुदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरु(सुपर भेट्रान) पनि सहभागिता जनाउँछन्।

 

प्रकाशित: १० फाल्गुन २०७६ १३:२६ शनिबार

पाँचौ_पटक धरान_रनको_उपाधि