खेल

साग पदक विजेता सम्मानित

भक्तपुर- साग खेलमा सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई शुक्रबार भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको छ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुर र सम्वाहक मिडिया हाउसले संयुक्त रुपमा ताम्रपत्रसहित सम्मान गरेको हो। सागमा पदक विजेता ११ खेलाडी, दुई प्रशिक्षक, एक ब्यवस्थापक र ३९ जना निर्णायकहरुलाई सम्मान गरिएको हो।

साग खेलमा दुई स्वर्णसहित करातेबाट प्रतिनिधित्व गर्ने मण्डेकाजी श्रेष्ठ, उसुमा स्वर्ण विजेता सुस्मिता तामाङ, तेक्वान्दोमा स्वर्ण विजेता काजोल श्रेष्ठलाई सम्मान गरिएको हो। यस्तै ,टेवलटेनिसमा रजत विजेता शिवशुन्दर गोठे, ह्याडबलकी देवकुमारी बास्कोटा, कबड्डीकी इन्दिरा गिरी, भारोत्तोलनकी लक्ष्मी वन, जुडोकी श्रीराम कामजु, बास्केटबलका विकल जोशी, तेक्वाडोबाट ज्ञानेन्द्र हमाल र खो खो खेल कास्य पदक विजेता श्याम बुढाथोकीलाई सम्मान गरिएको हो।

सम्मान पाउने प्रशिक्षकहरुमा राधिका देउला र मोहनप्रसाद बासुकला र ब्यवस्थापक सुन्दर प्रजापति रहेका छन्। यस्तै विभिन्न खेलहरुमा प्रशिक्षकको भूमिका निभाएका ३९ निर्णायकहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो। प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले उनीहरुलाई सम्मान गरेका हुन्।

प्रकाशित: ९ फाल्गुन २०७६ १३:२६ शुक्रबार

साग_पदक_विजेता