खेल

सेमिफाइनल समीकरण पूरा

मकवानपुर - पुर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार भएको अन्तिम क्वार्टरफाइनलमा वीरगन्ज युनाइटेडलाई टाइब्रेकरबाट ४–३ ले पराजित गर्दै संकटा क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा  भएको हो।

प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो सेमिफाइनलमा हिमालयन शेर्पाविरुद्ध च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्दै छ। दोस्रो सेमिफाइनल जावलाखेल र संकटाबीच हुनेछ। निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा संकटाका विदेशी खेलाडी मेसेक एसी, अमित तामाङ, दीपेश आले मगर र राजेन्द्र रावलले वीरगन्जका गोलरक्षकलाई छक्याउँदै बललाई जाली चुमाए। तर संकटाका कप्तान विदेशी खेलाडी एस्नेट ताम्पीको प्रहार भने गोलमा परिणत हुन सकेन। वीरगन्जका ३ खेलाडीले मात्र  गोल गर्न सके।

यसअघि दर्शकको साथ पाएका वीरगन्जका खेलाडीले थुप्रै अवसर पाए पनि संकटामाथि गोल गर्न असफल भए। संकटाका खेलाडीले बललाई विपक्षीको पोस्टमा प्रहार गरे पनि वीरगन्जका गोलरक्षकले विफल तुल्याइदिए। खेलमा वीरगन्जका कृपा चौधरी म्यान अफ दी म्याच घोषित हुँदै पा“च हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको विजेताले ६ लाख नगद, उपविजेताले ३ लाख, शिल्ड, मेडल तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ।

शनिबार सकिने प्रतियोगितामा ६७ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। ५ वटा ‘ए’ डिभिजन, प्रदेश र जिल्लास्तरीयसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिताको करिब २५ हजार  दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रकाशित: ९ फाल्गुन २०७६ ०१:३० शुक्रबार

गोल्डकप सेमिफाइनल च्यासल_युथ_क्लब