खेल

बाँसबारीलाई दी हिमालयजको साथ

काठमाडौं – फागुन १२ गतेबाट सञ्चालन हुने सहिद स्मारक ‘बी’ डिभिजन लिगको क्लब बाँसबारी क्लबलाई अराउन्ड दी हिमालयजले प्रायोजन  गर्ने भएको छ। ‘बी’ डिभिजन लिगको तयारीमा रहेको बाँसबारी क्लब र टुरिजम क्षेत्रमा काम गरिरहेको कम्पनी अराउन्ड दी हिमालयजबीच आइतबार एकवर्षे प्रायोजन सम्झौता भएको हो।

क्लबका अध्यक्ष प्रेम थापा र  हिमालयजका प्रबन्ध निर्देशक सुधा रमनले सम्झौतापत्रमा हस्ताक्षर गरे। प्रायोजन गर्ने अराउन्ड दी हिमालयजले क्लबलाई १० लाख रुपैयाँ नगद उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दियो। आइतबारको सम्झौतापछि क्लबले अराउन्ड दी हिमालयज बाँसबारीको नामबाट फागुन दोस्रो साताबाट हुने ‘बी’ डिभिजन लिग खेल्नेछ। सोही कार्यक्रममा प्रायोजकको जर्सी पनि सार्वजनिक गरियो।

सम्झौता पछि ‘बी’ डिभिजन लिग खेल्न लागेको बाँसबारीका अध्यक्ष प्रेम थापाले आफ्नो लक्ष्य उक्लिँदै ‘ए’ डिभिजन लिग खेल्ने रहेको बताए। लिगका लागि क्लबले ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको जानकारी दियो। क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक युगलकिशोर राई छन्।  यस्तै क्लबले सहायक प्रशिक्षकमा निशान श्रेष्ठ र फिटनेसका प्रशिक्षक रूपमा भारतका कपिल फोगटलाई अनुबन्ध गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रकाशित: ५ फाल्गुन २०७६ ०१:५५ सोमबार

‘बी’_डिभिजन_लिग बाँसबारी_क्लब सहिद_स्मारक