खेल

सिटीमाथि दुई वर्षको प्रतिबन्ध

नियोन – युरोपेली फुटबल महासंघ (युइएफए) ले शुक्रबार गम्भीर आर्थिक नियमको उल्लंघन गरेको आरोपमा म्यानचेस्टर सिटीलाई आगामी २ सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको छ।

सिटीले गम्भीर आर्थिक तथा फेयर प्लेसम्बन्धी नियम उलङ्घन गरेको आरोप लागेपछि युइएफएले कारबाही गर्दा सिटीले अबको दुई सिजन च्याम्पियन्स लिगमा सहभागिता जनाउन पाउने छैन। इङ्लिस प्रिमियर लिगको साबिकको विजेता सिटीलाई प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवानासमेत लगाइएको छ। यद्यपि, सिटीले कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (सिएएस) मा युइएफएको निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ। ‘यो प्रतिबन्धका कारण निकै दुःखी भए पनि युइएफएको न्यायिक कक्षबाट भएको निर्णयप्रति आश्चर्यचकित भने छैनौं,’ सिटीले भनेको छ। युइएफएबाट निर्णय भए पनि सिटीसँग सिएएसमा अपिल गर्ने माध्यम भने बाँकी छ। पेप ग्वार्डिओलाको टोली सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा रियाल मड्रिडविरुद्ध खेल्नेछ। युइएफएको सिटीमाथिको प्रतिबन्ध आगामी २०२०/०२१ र २०२१/२२ को सिजनका लागि लागू हुनेछ।

यस सिजनभित्र क्लबले कुनै पनि युरोपियन फुटबलको प्रतियोगिता खेल्न पाउने छैन। युरोपियन फुटबलले अनुसन्धानमा सिटीले सहयोग नगरेको समेत जनाएको छ। सिटीले लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम उल्लंघन गर्दा प्रायोजन गरेभन्दा बढी रकम लेखा परीक्षणमा समावेश गरेको युइएफएको आरोप छ। सिटी घरेलु लिगमा पनि अंकतालिकाको दोस्रो स्थानमा छ।

सिटीलाई आगामी सिजन च्याम्पियन्स लिग खेल्ने अवसर भए पनि कारबाही भएमा पाँचौं टोलीले च्याम्पियन्स लिग खेल्न पाउनेछ। सिटीलाई प्रिमियर लिगमा पनि कारबाही हुन सक्नेछ। प्रिमियर लिगमा भने कारबाही भएमा अंक घटाइनेछ। यससँगै ग्वार्डिओलासँगै सिटीका महत्वपूर्ण खेलाडीको भविष्यबारे प्रश्नसमेत उठ्न थालेको छ।

प्रकाशित: ४ फाल्गुन २०७६ ०१:१० आइतबार

फुटबल म्यानचेस्टर_सिटी युइएफए