खेल

आर्मी र मच्छिन्द्रबीच उपाधि भिडन्त

निर्णायक खेलअघि उपाधिका साथमा आर्मिका कप्तान भरत खवास (बायाँ) र मछिन्द्रका कप्तान विराज महर्जन । तस्बिर :एन्फा

काठमाडौं – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब एकअर्का विरुद्ध मैदानमा उत्रदा दुवै टोलीको लक्ष्य हुुनेछ, स्पष्ट जितका साथ पहिलोपटक लिग विजेता बन्ने।

मंसिर २८ गतेबाट सुरु भएको लिगका १२औं चरणमा आर्मी र मच्छिन्द्र एक आपसमा भिड्ने खेलतालिका थियो। तर, अखिल नेपाल फुटबल संघले आर्मी र मच्छिन्द्रबीचको उपाधि भिडन्त रोमाञ्चक बनेसँगै उक्त खेललाई १३औं चरणमा सारेको हो। आर्मी १२ खेलबाट २९ अंकका साथ शीर्षमा छ भने समान खेलबाट २८ अंक जाडेको मच्छिन्द्र दोस्रो स्थानमा छ। गत सिजन रेलिगेसनबिनाको लिगमा १३औं स्थानमा रहेका मच्छिन्द्र र १४औं स्थानको एनआरटीको यस सिजनमा क्रमशः एक र दुई अंक घटाएको थियो।

लिगको अन्तिम खेलमा मच्छिन्द्रको सामना गर्दा आर्मीलाई बराबरीको अंक पनि लिगको उपाधि चुम्न पर्याप्त हुनेछ। तर आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने बरारीको नतिजाभन्दा जितका साथ लिगको उपाधि भित्राउने दाबी गरेका छन्। ‘पहिलोपटक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने मौका जुरेको छ। त्यसलाई खेर जान दिदैनौं,’न्यौपानेले भने, ‘आर्मीको बलियो पक्ष भनेकै पावर गेम हो र मच्छिन्द्रविरुद्ध मैदान उत्रदा हामीलाई बराबरीको नतिजा मात्रै पर्याप्त भए पनि हामी अट्याकिङ गेम खेलेर नै जितका साथ च्याम्पियन बन्न चाहान्छौं।

‘हामीले यस सिजन केही खेलमा अंक गुमायौं। मनाङ मर्स्याङ्दीविरुद्ध इन्जुरी समयमा सम्हालिन नसक्दा नतिजा सुम्पिन पर्‍यो। संकटाविरुद्ध १–० को अग्रता लिइरहेको अवस्थामा १–१ को बराबरी खेल्न बाध्य भयौं। न्युरोड टिम(एनआरटी)विरुद्ध पनि अंक बाँड्नुपर्‍यो,’न्यौपानेले थपे, ‘गत सिजन पनि राम्रो खेलका थियाैँ। तर धेरै बराबरीको नतिजापछि चौथो स्थानमा बस्दै सिजनको अन्त्य गर्नुपर्‍यो। यस पटक भने १ हार र २ बराबरीको नतिजापछि पनि लिगको अन्तिम चरणसम्म शीर्षमै छौं। यसले पनि टोलीको मनोबल उच्च छ। लिगको अन्तिम खेलमा मैदान उत्रदा कुनै दबाब नहुने न्यौपाने बताउँछन्। यस अघि वि।सं। २०१४ मा आर्मी–११ ले लिगको उपाधि जितेको थियो। तर त्रिभुवन आर्मी क्लबको नाममा भने टोलीले ‘ए’ डिभिजनको उपाधि जित्न सकेको छैन। त्यसैले टोली सामु इतिहास रच्ने मौका भएको नवीनले बताए।

यस सिजनको अन्तिम खेलमा मच्छिन्द्रको सामना गर्दा आर्मीलाई बराबरीको अंक पनि सहिद स्मारक ‘ए’ लिगको पहिलो उपाधि चुम्न पर्याप्त हुनेछ। मच्छिन्द्रसँग भने च्याम्पियन बन्नका लागि आर्मीविरुद्ध जितको विकल्प हुने छैन।

‘पहिलोपटक लिग विजेता बन्दै इतिहास रच्ने लक्ष्यमा छौं,’न्यौपानेले भने, ‘मच्छिन्द्रको बलियो पक्ष भनेकै सेट पिस हो र त्यसलाई रोक्न सके,जित सम्भव छ ।’ आर्मीका कप्तान भरत खवासले पनि बराबरीको नतिजाले ‘ए’ डिभिजनको उपाधि आफ्नो पोल्टामा पर्ने भए पनि जित नै निकाल्ने लक्ष्य रहेको बताउँछन्। ‘मच्छिन्द्रको टोली बलियो हो। तर शनिबार हामी उनीहरुलाई हराउँदै उपाधि जित्न चाहान्छाैँ,’भरतले भने। गत सिजन १३औं स्थानमा बस्दै सिजनको अन्त्य गरेको मच्छिन्द्रले जारी लिगकै लागि मोटो रकम खर्च गर्र्दै मनाङ र थ्री स्टारबाट खेलाडी अनुबन्धन गरेको थियो। मच्छिन्द्र सामु पनि लिगको नयाँ विजेताका रूपमा नाम लेखाउने सुनौलौ अवसर छ।

‘हाम्रो एउटै लक्ष्य ‘ए’ डिभिजन लिग च्याम्पियन बन्नु हो। शनिबार आर्मीविरुद्ध उत्रदा पनि त्यही रणनीति हुनेछ,’मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘आर्मीलाई बराबरीको नतिजा पनि पर्याप्त छ, तर हामीसामु जितको विकल्प छैन। आर्मी जारी लिगकै बलियो टोली हो। हामीले लिगको सुरुआतबाटै पाएका धेरै गोलको अवसर गुमाएका छौं। तर आर्मीविरुद्धको खेलमा थोरै अवसर जुर्छ र त्यो अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ। त्यौ नै जितको एक रणनीति हो। आर्मी विगत चार÷पाँच वर्षदेखि सँगै खेलिरहेको छ। आर्मीको बलियो पक्ष भनेकै कुनै एक खेलाडी भन्दा पनि टिम वर्क हो र उसको बेन्च पनि बलियो छ,’कटुवालले थपे, ‘हाम्रो टोलीमा अनुभवी र क्षमतावान खेलाडी छन् र त्यो जितको हतियार हुन्। ९० दिनको निलम्बन फुकुवा भएसँगै स्ट्राइकर विमल घर्तीमगर अन्तिम खेलका लागि मात्र भए पनि मच्छिन्द्रबाट खेल्नेछन्। उनी विगत १० दिनदेखि टोलीसँगै अभ्यासमा छन् र त्यसले पनि टोलीको मनोबल बढेको छ। उनको आगमन आर्मीका लागि भने दबाब बन्नेछ। मच्छिन्द्र वि.सं। २०६२ मा ‘बी’ डिभिजनबाट ‘ए’ मा बढुवा भएको थियो।

वि.सं २०७० को सिजनमा मच्छिन्द्र दोस्रो स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। त्यो नै टोलीले लिगमा हात पारेको अहिले सम्मकै ठूलो उपलब्धि हो। ‘दुवै टोली पहिलोपटक उपाधि भित्राउने लक्ष्यमा छन्, आर्मीलाई बराबरीको नतिजा पनि विजेता बन्न पर्याप्त छ,’मच्छिन्द्रका कप्तान विराज महर्जनले भने, ‘तर हाम्रा लागि जितको विकल्प छैन। त्यसैले आर्मीविरुद्ध तीन अंक जोड्दै ‘ए’ डिभिजन च्याम्पियन बन्ने लक्ष्यमा छौं र टोलीले त्यसैअनुसारको रणनीति बनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App