खेल

उमा कुङ्फु फागुन १६ देखि

काठमाडौं – पाँचौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ।

नेपाल उमा कुङ्फु संघको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा विभिन्न १८ जिल्लाबाट २ सय खेलाडीको सहभागिता रहने आयोजक उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। आयोजकले उपत्यकाबाहिरबाट आउने खेलाडी तथा अफिसियललाई खाना र बस्न आयोजकले नै व्यवस्था गर्ने बताएको छ। सान्डामा २३, प्याटर्नमा १६ र ताइचीमा ४ गरी ४३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता सञ्चालन गर्न आयोजक संघका सचिव महेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ। जसअन्तर्गत प्रचारप्रसारमा संघका सदस्य जीवन गुरुङ, स्वास्थ्यमा संघका सदस्य रजदीश नेम्कुल, प्राविधिकमा संघका पूर्वअध्यक्ष एवं उमा कुङ्फुका सहायक मुख्य प्रशिक्षक उद्धव थापामगर र आर्थिकमा संघका सदस्य अशोक केसीलाई संयोजकको जिम्मेवारी दिइएको छ।

प्रतियोगिताका लागि संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामालाई प्याटर्न र ताइची तथा संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय कुङ्फु फेडेरेसनअन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राईलाई सान्डाका लागि प्रमुख जजमा चयन गरिएको छ। प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु वसुन्धरास्थित ऋत एकेडेमीमा हुने छ।

प्रकाशित: २ फाल्गुन २०७६ ०१:१७ शुक्रबार

कुङ्फु आयोजक प्रतियोगिता