खेल

नेपालको कीर्तिमानी जित

अमेरिकाका तिमिल पटेलविरुद्ध एलबिडब्लू अपिल गर्दै नेपालका सन्दीप लामिछाने र विनोद भण्डारी। तस्बिर सौजन्य : क्यान

काठमाडौं – स्पिनरद्वय सन्दीप लामिछाने र सुसन भारीको जोडीले १० विकेट लिएपछि नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्ध दोस्रो सफलता निकाल्दै बुधबार कीर्तिमानसमेत बनाएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अमेरिकामाथि ८ विकेटको जित निकाल्दै नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको सुखद अन्त्य गरेको हो। शृंखलाका चारमध्ये दुई खेलमा सफलता प्राप्त गरेको नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै श्रीलंकाको १६ वर्षअघिको कीर्तिमानसँग बराबरी ग-यो। यसअघि श्रीलंकाले सन् २००४ मा जिम्बाबेलाई एकदिवसीय क्रिकेटकै सबैभन्दा कम योगफलमा समेट्दा १८ ओभरमा ३५ रनमै अलआउट गरेको थियो।

बुधबार सन्दीप र सुसनको जादुमय स्पिन चलेपछि नेपालले १२ ओभरमै अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्वकीर्तिमान बराबरी गर्न सफल भयो। एकदिवसीय क्रिकेटमा सन्दीप एकै इनिङमा ६ विकेट लिने नेपालको पहिलो र एसोसिएट राष्ट्रमध्येबाट विश्वको दोस्रो खेलाडी भए। यसअघि गत वर्ष युएईविरुद्धको एकदिवसीय खेलमा पाँच विकेट लिएर सोमपाल कामी नेपालका लागि एकै इनिङमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। एसोसिएटतर्पm अफगानिस्तानका रसिद खानको पनि ६ विकेटको कीर्तिमान छ।

बुधबार अमेरिकाविरुद्ध चार विकेट लिँदै सुसनले यस शृंखलाको कुल चार खेलबाट ११ विकेट निकाल्न सफल भए। यसअघि सोमपालले युएईविरुद्धको शृंखलामा तीन खेलबाट सर्वाधिक सात विकेट लिएका थिए। अमेरिकाले प्रस्तुत गरेको ३६ रनको झिनो लक्ष्य नेपालले दुई विकेटको क्षतिमा २ सय ६८ बल अगाबै पूरा ग¥यो। पारस खड्काले २० रन र दीपेन्द्रसिंह ऐरीले १५ रनको अविजित इनिङ खेलेपछि नेपालले ५.२ ओभरमा लक्ष्य भेट्टायो। १२ बल खेलेका पारसको इनिङमा तीन चौका र एक छक्का समावेश थिए।

ऐरीले भने ११ बलमा दुई चौका र एक छक्का हिर्काए। यस खेलमा पनि नेपालले खराब ब्याटिङलाई बिर्सन नसक्दा पहिलो दुई ओभरभित्रै ओपनरद्वय ज्ञानेन्द्र मल्ललाई १ रनमा र सुवास खकुरेललाई शून्यमै गुमाउनपुग्यो। झिनो लक्ष्य भएकाले सस्तैमा दुई विकेट गुमाए पनि नेपालले ठूलो क्षति भने बेहोर्नुपरेन। नोस्थुसा केन्जिगेले नेपालका दुई ओपनरलाई बोल्ड गर्दै अमेरिकालाई राम्रो सुरुआत दिलाए पनि पारस र दीपेन्द्रले इनिङ समाल्दै सहज जित दिलाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निकै खराब सुरुआत गर्दा पहिलो दुई ओभरमा खाता नखोल्दै इयान होल्यान्डलाई गुमाउन पुग्यो। सन्दीपले होल्यान्डलाई पारस खड्काबाट क्याच गराउँदै अमेरिकालाई पहिलो झड्का दिए। त्यसलगत्तैको तेस्रो ओभरमा जेभियर मार्सलले करण केसीको एकै ओभरमा दुई चौका प्रहार गर्दै नेपाली बलरविरुद्ध दबाब बनाउने प्रयास गरे। मार्सल १२ रनमा तेस्रो विकेटका रूपमा आउट हुँदा सुसनको पहिलो सिकार भए।

त्यससँगै सात ओभरमा २७–२ विकेटको अवस्थामा रहेको अमेरिकाले थप ८ रन जोड्दा ८ विकेट नै गुमाएपछि नेपालले कीर्तिमान बराबरी ग-यो। त्यसपछि अमेरिकाका आठ ब्याट्सम्यान सन्दीप र सुसनको स्पिनसामु निरीह बन्दा दोहोरो अंकमा रन बटुल्न असफल हुँदै पेवेलियन फर्किए। सन्दीपले अमेरिकाका मोनन्क पटेल, निसर्ग पटेल र केन्जिगेलाई क्लिन बोल्ड गर्दा तिमिल पटेललाई भने एलबिडब्लूको सिकार बनाए। सुसनले भने क्यामरन स्टेभेनसन र आरोन जोन्सलाई बोल्ड गर्दा रस्टी थेरनलाई एलबिडब्लू आउट गरेका थिए।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले यस शृंखलाबाट धेरै कुरा सिक्न पाएको टिप्पणी गरे। ‘यस शृंखलाबाट धेरै कुरा सिक्न पाएका छौं। साथै हामीले प्रतिभावान् खेलाडी पनि पायौं,’ मल्लले भने, ‘सन्दीप र सुसनले आशा गरेअनुसार भन्दा पनि राम्रो बलिङ गरे। ओमानसँग पनि धेरै नजिक पुगेर हा¥यौं। उनीहरूका खेलाडीबाट हामीले धेरै पाठ सिकेका छौं।’

सात राष्ट्र सम्मिलित आइसिसी विश्वकप क्रिकेट लिग–२ मा यो जितपछि नेपाल चार खेलबाट चार अंक बटुल्दै अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ। ओमान भने १० खेलबाट ८ जितमा १६ अंकसहित शीर्षमा छ। लिग तालिकामा अमेरिका दोस्रोमा र स्कटल्यान्ड तेस्रो स्थानमा छन्। अमेरिकाले १२ खेलबाट १२ अंक र स्कटल्यान्डले ८ खेलबाट ९ अंक जोडेका छन्। सन् २०२२ को जनवरीभित्र प्रत्येक राष्ट्रले कुल ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने राष्ट्रले विश्वकप छनोट खेल्नेछन्।

अंकतालिका

प्रकाशित: १ फाल्गुन २०७६ ०१:०४ बिहीबार

नेपाल अमेरिका क्रिकेट