खेल

अबदेखि महिला क्रिकेटरको पनि ग्रेडिङ

काठमाडौं -  नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुषलाई म्याच फी दिने र नेपाली महिला क्रिकेट टोलीको पनि ग्रेडिङ गर्ने नयाँ व्यवस्था गरेको छ।

नक्सालमा सोमबार बसेको क्यान कार्यसमिति बैठकबाट पुरुष टोलीका सदस्यलाई प्रत्येक खेलबापत ५ हजार दिने र महिला क्रिकेट खेलाडीलाई विभिन्न ग्रेडमा प्रदान गर्ने निर्णय गरिएको हो। पुरुष खेलाडीले जनवरी १ देखि लागू हुने गरी प्रत्येक एकदिवसीय र ट्वान्टी–२० को म्याच फी पाउने क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

यसअघि पुरुष क्रिकेटरको मात्र ग्रेडिङ रहे पनि महिला क्रिकेटरको भने पहिलो पटक ग्रेडिङ गर्न लागिएको हो। पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी, सी तह थियो भने महिलातर्फ भने १८ ए, बी, सी तहका खेलाडीको क्यानसँग सम्झौता हुनेछ।   क्यानले आफ्नो सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पुरुष र महिला खेलाडीको ग्रेडिङका लागि क्यान कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा अमितवीर पाण्डे र दुर्गाराज पाठक रहेको समिति गठन गरेको जनाएको छ।

उक्त समितिले कुन खेलाडीलाई कुन ग्रेडमा राख्ने भन्ने निर्णय क्यानलाई बुझाउनेछ। कुन ग्रेडका खेलाडीले कति तलब पाउने त्यो पनि समितिले क्यानलाई प्रस्ताव गर्नेछ। क्यान अध्यक्ष चन्दले खेलाडीलाई जतिसक्दो राम्रो सेवासुविधा दिने उद्देश्य रहेकाले म्याच फीको व्यवस्थासँगै तलब पनि वृद्धि गर्ने तयारी भएको बताए। पछिल्ला एक वर्षभित्र खेलाडीले गरेको प्रदर्शन नै ग्रेडिङको मुख्य आधार हुनेछ। क्यानको सोमबारको बैठक ग्रेडिङ, प्रतियोगिता र पुरुष टोलीको थाइल्यान्ड टुरमा केन्द्रित थियो।

जसअनुसार क्यानले आगामी चैत्र तेस्रो हप्तादेखि काठमाडौंमा एकदिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। साथै थाइल्यान्ड आगामी फेब्रुअरी २५ देखि हुने एसिया कप छनोट खेलमा नेपालको प्रतिनिधित्वबारे पनि बैठकमा छलफल भएको थियो।

प्रकाशित: २८ माघ २०७६ ०१:४८ मंगलबार

क्रिकेट ग्रेडिङ खेलाडी