खेल

आर्मीको दोहोरो जित

काठमाडौं – त्रिभुवन आर्मी क्लबले १५औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ।

आर्मीले आयोजक ढोरपाटनलाई तथा पारामाउन्ट स्कुललाई सोझो सेटमा हराउँदै प्रतियोगितामा दोहोरो जित हात पारेको हो। पहिलो खेलमा आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि २५–९, २५–९ र २५–११ को सहज जित निकाल्दा आर्मीले दोस्रो खेलमा पारामाउन्टलाई २५–१०, २५–२० र २५–३ ले हरायो। बुधबार दोहोरो जितसँगै आर्मी ७ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा छ। ७ खेलबाट ९ अंक जोडेको ढोरपाटन सातौं स्थानमा छ।  पारामाउन्ट ८ खेलबाट ३ अंकसहित आठौं स्थानमा छ।

बुधबारै एपिएफले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा तीन इरानी खेलाडी सम्मिलित चितवन टाइग्रेसलाई ३–० को सोझो सेटमा पराजित ग-यो। एकपक्षीय खेलमा एपिएफले चितवनमाथि २५–१०, २५–१८ र २५–१० को सहज जित निकाल्यो। अपराजित रहेको एपिएफ ८ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा यथावत् छ। त्यसअघि अघिल्ला तीन खेलमा अपराजित रहँदै उच्च प्रदर्शन गरेको चितवन बुलबुले रारा भलिबल क्लबसँग पनि ३–२ को प्रतिस्पर्धात्मक सेटमा स्तब्ध भयो।

पहिलो सेट १९–२५ ले गुमाएको चितवनले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा-यो। चितवनले तेस्रो सेट २४–२६ ले र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौं सेटमा धकेलिएको थियो। चितवनले पाँचौं सेट बुलबुलेलाई १४–१६ ले सुम्पियो। यससँगै बुलबुले रारा ६ खेलबाट ११ अंकसहित पाँचौं स्थानमा उक्लिँदा ५ खेलबाट १० अंक जोडेको चितवन छैटौं स्थानमा छ। अर्काे खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–१  सेटमा पराजित ग-यो।

पुलिसले सुरुआती सेट १४–२५ ले गुमाए पनि त्यसपछिका तीनै सेट २५–१९, २७–२५ र २५–१७ ले जित्न सफल भयो। जितसँगै पुलिसले ७ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहँदा डायमन्ड ६ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा छ। सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) र चुली युवा क्लबले अंकको खाता खोल्न सकेका छैनन्। लिगमा बिहीबार पाँच खेल हुने आयोजकले जनाएको छ।

प्रकाशित: २३ माघ २०७६ ०२:०३ बिहीबार

त्रिभुवन_आर्मी ढोरपाटन भलिबल