खेल

आर्मी, गण्डकी, सुदूर र प्रदेश ५ सेमिफाइनलमा

प्रदेश १ (कालो) का खेलाडी बल अघि बढाउने प्रयास गर्दै। तस्बिरः चुमन बस्नेत/नागरिक

मोरङ - विराटनगरमा जारी दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो चरणका खेल सम्पन्न भएको छ। नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो चरणका सबै खेलको अंकतालिकाका आधारमा नेपाल आर्मी, गण्डकी प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ समूहविजेता तथा उपविजेता हुँदै सेमिफाइनल पुगेका छन्।

प्रतियोगिताअन्तर्गत पहिलो खेलमा विभागीय टोली नेपाल आर्मी रोमन रानाको ह्याट्रिकमा बागमती प्रदेशलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको म्यान अफ दी म्याच रोमनले १२, ३८ र ५४औं मिनेटमा गोल गरेका थिए। त्यसै गरी दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई  ६–० ले पराजित गर्दै सेमिफाइनल पुग्यो। सुमितकुमार कामीको चार गोल मद्दतमा गण्डकी प्रदेशको सेमिफाइनल यात्रा सहज भएको हो। खेलको २९औं मिनेटमा सागर आचार्यले गोल गरेको थिए भने ३८, ४०, ५० र ५७औं मिनेटमा सुमितले गोल गर्दै जित दिलाए। खेलको म्यान अफ दी म्याच सुमित भए।

त्यस्तै तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ५–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। खेलको १०औं मिनेटमा प्रदेश १ का अनिष मगरले गोल गरे। २८औं मिनेटमा सुदूरपश्चिमका कान्तुराम पनेरूले गोल गरे। ३६औं मिनेटमा दीपकराज जोशीले गोल थपे भने ४८औं मिनेटमा केशवराज जोशीले गोल गरे। ४९ र ५५औं मिनेटमा म्यान अफ दी म्याच अमित ओझाले गोल गरे। प्रतियोगिताअन्तर्गत बिहीबार हुने सेमिफाइनलको पहिलो खेलमा नेपाल आर्मी र प्रदेश ५ तथा दोस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २३ माघ २०७६ ०१:४६ बिहीबार

हक्की राष्ट्रिय मोरङ