खेल

न्युजिल्यान्डको सुखद सुरुआत

ह्यामिल्टन –  रस टेलरको अविजित शतकप्रेरित न्युजिल्यान्डले बुधबार पहिलो एकदिवसीय खेलमा भारतमाथि ४ विकेटको जित हात पारेको छ।

भ्रमणकारी टोली भारतले प्रस्तुत गरेको ३ सय ४९ रनको लक्ष्य न्युजिल्यान्डले ४८.१ ओभरमा मात्र ६ विकेट गुमाउँदै पूरा गरेको थियो। हालै सम्पन्न ट्वान्टी–२० खेलको शृंखलामा ५–० ले निराश भएको न्युजिल्यान्डले एकदिवसीय खेलमा भने सुखद सुरुआत गरेको हो। घरेलु टोलीका लागि टेलरले अविजित १ सय ९ रन जोडे। पहिलो विकेटका लागि ओपनर मार्टिन गुप्टिल र हेनरिक निकोल्सले ८५ रनको साझेदारीका साथ न्युजिल्यान्डका लागि  सफल सुरुआत गरेका थिए। न्युजिल्यान्डले १ सय ९ रन जोड्दा टम ब्लनडेललाई दोस्रो विकेटका रूपमा गुमायो।

टेलरले निकोल्ससँग तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। ८२ बलको सामना गरेका निकोल्सले विराट कोहलीबाट रनआउट हुनुअघि ११ चौकाको मद्दतमा ७८ रन जोडे। टेलरले चौथो विकेटका लागि विकेटकिपर टम लाथमसँग १ सय ३८ रनको महत्वपूर्ण साझेदारीका साथ न्युजिल्यान्डको जितको आधार खडा गरेका थिए। ८४ बल खेलेका टेलरले १० चौका र ४ छक्काको मद्दतमा अविजित १ सय ९ रन जोड्दा ४८ बलको सामना गरेका लाथमले ८ चौका र २ छक्काको मद्दतमा ६९ रनको योगदान गरे। भारतका कुलदीप यादवले २ विकेट लिँदा शार्दूल ठाकुर र मोहम्मद सामीको नाममा समान एक विकेट रह्यो।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा मात्र ४ विकेट  गुमाउँदै ३ सय ४७ रनको सम्मानजनक योगफल खडा गरेको थियो। भारतका श्रेयस ऐयरले १ सय ३ रन जोड्दा के एल राहुलले अविजित ८८ र कप्तान कोहलीले ५१ रनको योगदान गरे। १ सय ७ बल खेलेका ऐयरले ११ चौका र १ छक्का प्रहार गर्दा ६४ बल खेलेका राहुलले ३ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै कोहलीले ६३ बलको सामना गर्दै ६ चौका प्रहार गरे।

तीन खेलको शृंखलाअन्तर्गतको दोस्रो खेल शनिबार हुनेछ।

प्रकाशित: २३ माघ २०७६ ०१:३३ बिहीबार

कप्तान न्युजिल्यान्ड खेल