खेल

सुखद सुरुआतको लक्ष्य

काठमाडौं – आयोजक नेपाल घरेलु मैदानमा बुधबारदेखि हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ मा सफलता निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छ।

तीन राष्ट्र सम्मिलित आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखला बुधबारबाट नेपालमा आयोजना हुँदै छ। शृंखलामा आयोजक नेपालसहित ओमान र अमेरिकाले प्रतिस्पर्धा गर्दै छन्। नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने शृंखलाको पहिलो खेलमा पाहुना टोली ओमानविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले समग्रमा तयारी राम्रो रहेकाले सुखद सुरुआतको लक्ष्य रहेको बताए। ‘हामी निकै उत्साहित छौं,’ कप्तान मल्लले भने, ‘घरेलु मैदानको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्ने लक्ष्य छ। घरेलु मैदानमा हुने खेललाई हामीले ठूलो अवसरका रूपमा लिएका छौं।’ साथै कप्तान ज्ञानेन्द्रले शृंखलाअगाडि प्रशिक्षक उमेश पटवालको राजीनामाबारे आफूहरूले ध्यान नदिएको र शृंखला जित्नमै केन्द्रित रहेको बताए।

अमेरिका र ओमान दुवै टोलीका कप्तानले शृंखलामा नेपाल बलियो प्रतिद्वन्द्वी भएको र घरेलु टोलीविरुद्ध खेल्न गाह्रो हुने बताएका छन्। ओमानका कप्तान जेसन मकसुदले नेपालको कन्डिसनमा खेल्न गाह्रो हुने समेत उल्लेख गरे। अमेरिकाका कप्तान सौरभ नेत्रभल्करले पनि घरेलु टोली नेपालसँग खेल्ने कठिन हुने बताए।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि मंगलबार पत्रकार सम्मेलनमार्पmत पहिलो पटक नेपालमा हुन लागेको यति ठूलो प्रतियोगितालाई भव्यतापूर्ण सञ्चालनमा कुनै कमजोरी हुने नदिने जनाएको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले आइसिसीले पनि शृंखलाको तयारीमा स्वतन्त्रपूर्ण काम गर्ने अवस्था सिर्जना गरेको बताउँदै उनीहरूले पनि साथ दिइरहेको उल्लेख गरे।   

कुनै समय डिभिजिन लिगका खेलमा चिर परिचत प्रतिद्वन्द्वीको रूपमा लिएका टोलीद्वय ओमान र अमेरिकाले शीर्ष वरीयताको खेल नेपालमा खेल्न लागेको पहिलो पटक हो। माघ २९ गतेसम्म चल्ने त्रिकोणात्मक शृंखलामा कुल ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई/दुई खेल्ने तालिका छ। बुधबार पहिलो खेल नेपालले पाहुना टोलीसँग खेल्दा दोस्रो खेल अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ। यस्तै तेस्रो खेल नेपालले ओमानसँग माघ २६ र चौथो तथा अन्तिम खेल अमेरिकासँग माघ २९ गते खेल्ने तालिका छ।

ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो। सन् २०२३ को एकदिवसीय विश्वकपको रोडम्यापको रूपमा समेत रहेको यस विश्वकप लिग–२ मा नेपालको यो पहिलो शृंखला हो। यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ। ओमान ८ अंकसहित चौथो स्थानमा छ। सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा एकदिवसीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो भने समग्रमा नेपालको तेस्रो एकदिवसीय शृंखला हो।

पहिलो पटक सन् २००८ को डिभिजन पाँचमा आमने सामना भएका अमेरिका र नेपाल ११ पटक एकदिवसीयमा आमनेसामने भएका छन्। जसमा नेपालले पाँच पटक जितेको छ भने अमेरिकाले तीन खेल जितेको छ। तीन खेल भने नतिजाविहीन भएका छन्। अभ्यासका लागि भएको खेलमा नेपाल प्रेसिडेन्ट–११ ले अमेरिकाको राष्ट्रिय टोलीमाथि मंगलबार जित निकालेको छ। मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको १ सय १२ रनको लक्ष्यसहित जबाफी ब्याटिङ गरेको अमेरिका ३२.२ ओभरमा सबै विकेट गुमाएर मात्र ७४ रनमा समेटिँदा नेपाल ३७ रनले विजयी भएको हो।

प्रकाशित: २२ माघ २०७६ ०१:४० बुधबार

कप्तान क्रिेकेट विश्वकप