खेल

मनाङलाई गम्भीर धक्का

मनाङविरुद्ध गोल गरेपछि च्यासल युथ क्लवका खेलाडी । तस्बिर सौजन्य : एन्फा

काठमाडौ – च्यासल युथ क्लबसँग स्तब्ध भएसँगै साबिकको विजेता मनाङ मर्स्याङ्दीको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गर्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ।

सोमबार एन्फा मुख्यालय सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा मनाङको जारी सिजनको अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा च्यासलले २–० को जित पक्का गरेको हो। नवौं चरणसम्ममा मनाङ मात्र लिगमा एक मात्र अपराजित टोली थियो, जसमा च्यासलले दशाैँ चरणमा पूर्णविराम लगाएको हो। यस हारपछि मनाङले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँगको अंक दूरी १ मा झार्ने अवसरसमेत गुमाएको छ। आइतबार विभागीय डर्बीमा नेपाल पुलिसमाथि ४–२ को सानदार जित हात पारेको आर्मी १० खेलमा २३ अंकका साथ शीर्ष स्थानमा छ। समान खेल खेलेको मच्छिन्द्र क्लब २२ अंकका साथ दोस्रो स्थानमा छ भने मनाङ समान खेलमा १९ अंकका साथ तेस्रो स्थानमा यथावत् छ।

मनाङले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँगको अंक दूरी १ मा झार्ने अवसरसमेत गुमाएको छ। आइतबार विभागीय डर्बीमा नेपाल पुलिसमाथि ४–२ को सानदार जित हात पारेको आर्मी १० खेलमा २३ अंकका साथ शीर्ष स्थानमा छ ।

चौथो स्थानमा बसेको थ्री स्टारको १७ अंक छ भने संकटा क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिम (एनआरटी) समान १५ अंकका साथ क्रमश पाँचाैँ, छैटाैँ र साताैँ स्थानमा छन्। मनाङमाथि जित हात पारेको च्यासल १२ अंकका साथ नवौं स्थानमा उक्लिएको छ। २४ औं मिनेटमा तिगा नागामुराले फ्रिकिकमा गरेको गोलमा च्यासलले अग्रता लिएको थियो। इन्जुरी समयको अन्तिम मिनेटमा कप्तान सन्तोष साहुखलले बललाई जाली चुमाउँदै च्यासलको अग्रता दोब्बर पारेको थियो। यो हारले लिगको उपाधि रक्षामा गम्भीर धक्का लागेको छ, मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने, ‘हामीले धेरै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनाैँ। त्यसले हामीमाथि दबाब बढाएको छ। अब हामी लिगका बाँकी ३ खेल जित्दै उपाधि रक्षा गर्ने प्रयास गर्नेछाैँ। हामीसँग त्यसको विकल्प समेत छैन।

यसअघि ९०औं मिनेटमा रेफ्रीमाथि अपशब्द प्रयोग गरेपछि च्यासलका पशिक्षक बालगोपाल साहुखललाई रेफ्रीले रातो कार्डको दर्शन गर्दै स्ट्यान्डमा पठाएका थिए । लिगको उपाधि दाबेदार मनाङमाथिको जितपछि हामी रेलिगेसन खतराबाट जोगिएका छाैँ च्यासलका म्यानेजर शंकर व्यञ्जनकारले भने, हामीले आज जित्ने मानसिकताका साथ खेलेका थियौं र नतिजा पनि त्यहीअनुरूप आयो। यो तीन महत्वपूर्ण अंकले हामीलाई सुरक्षित बनाएको छ। यसअघि सोमबारै भएको दिनको पहिलो खेलमा जावलाखेलले ब्रिगेड ब्बाइज क्लब (बिबिसी)को चुनौती १–० ले निराश पार्दै शीर्ष ६ मा बसेर सिजनको अन्त्य गर्ने लक्ष्य कायम राखेको छ ।

यता १० खेलमा मात्र ८ अंक जोडेको बिबिसी भने ११औं स्थानमा छ। लिगअन्तर्गत मंगलबार दशौं चरणको खेलको अन्तिम खेलमा एनआरटी र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। खेल एन्फा मुख्यालय सातदोबाटोमा हुनेछ।

प्रकाशित: २१ माघ २०७६ ०१:३५ मंगलबार

च्यासल युथ_क्लब ए_डिभिजन_लिग