खेल

साग विजेता प्रहरीका खेलाडी सम्मानित

काठमाडौं  – नेपाल प्रहरीले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ।
सागमा नेपाल प्रहरीमा आबद्ध खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य जितेको राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान समेत रहेका खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जनाएका छन्।

व्यक्तिगत स्पर्धामा स्वर्णलाई १ लाख २५ हजार, रजतलाई ६० हजार र कांस्यलाई ३० हजार नगद प्रदान गरियो। त्यस्तै टिममा स्वर्णलाई ७५ हजार, रजतलाई ४० हजार र कांस्यलाई २५ हजार नगदबाट पुरस्कृत गरियो।

दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले सर्वाधिक २ लाख नगद पाए। उनले करातेको व्यक्तिगत र टिम कातामा स्वर्ण जितेका थिए। महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरे।

सोही अवसरमा प्रशिक्षकहरुलाई पनि प्रशंसापत्र र दोसल्लाबाट सम्मानित गरिएको थियो।

प्रकाशित: २० माघ २०७६ ०१:४५ सोमबार

खेलकुद नेपाल_प्रहरी