खेल

भारोत्तोलन संघको नेतृत्वमा राम ‘बोस’

काठमाडौं – नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ (बोस) निर्वाचित भएका छन्।

शनिबार राति सम्पन्न चुनावी साधारणसभाबाट श्रेष्ठ आफ्ना प्रतिद्वन्द्वी विजेन्द्रविक्रम शाहलाई दुई मतअन्तरले पराजित गर्दै चार वर्षका लागि संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्। यसअघि उपाध्यक्ष रहेका श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहले २८ मत पाए। संघका पूर्वअध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतनकुमार टण्डनले संघको नेतृत्व त्याग्ने भएपछि संघको चुनावमा सरगर्मी आएको थियो। संघको पाँच उपाध्यक्ष, महासचिव, सहसचिव र कोषाध्यक्ष भने निर्विरोध निर्वाचित भए। उपाध्यक्षमा पार्थसारथी सेन गुप्त, जगदीश प्रधान, समसुद्दिन सिद्धिकी, राजनकुमार बड्गामी र रुकेश तण्डुकार चयन भए।

महासचिवमा तिलकबहादुर राउत, सहसचिवमा रामेश्वर श्रेष्ठ र कोषाध्यक्षमा रुद्रबहादुर न्यौपाने चयन भए। सचिवमा भने कुमारमान श्रेष्ठ निर्वाचित भए। कुमारमानले ३३ मत पाउँदा उनका प्रतिद्वन्द्वी विपेन्द्र महर्जनले २४ मत प्राप्त गरे। १० सदस्यका लागि भएको मतदानमा सदस्यमध्ये गीता श्रेष्ठ निर्विरोध निर्वाचित भइन्। उनी महिला सदस्यतर्फ निर्विरोध भएकी हुन्। अन्य सदस्यमा शिवनारायण चौधरी ५१, गोपालबहादुर श्रेष्ठ ५०, रत्नमान माली ४४, महेशप्रसाद यादव ४३, शत्रुघन यादव ३९, दीपेन्द्रकुमार ठाकुर ३६, प्रेमकुमार कौशल ३६, राजेन्द्र प्रधान ३५ र अजय शाही ३४ मत ल्याउँदै निर्वाचित भए। अजय र उमेश सिकेको ३४/३४ मत प्राप्त भएकोमा गोला प्रथाबाट अजयले सदस्यमा बाजी मारे। सदस्यतर्फ १० स्थानका लागि १५ जनाको उम्मेदवारी भएको थियो। साधारणसभामा २३ कार्यसमिति सदस्य, ३ प्राविधिक, १ ओलम्पियन र २१ जिल्लाका ४२ गरी ६९ प्रतिनिधि रहेकोमा ६० मत खस्दा २ मत बदर भएको थियो।

विजयी पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत राखेप खेलकुद विकास विभाग प्रमुख डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ गराएका थिए। विजयपछि  नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैसँग मिलेर भारोत्तोलन खेलको विकास र विस्तारमा लाग्ने तथा संघको आफ्नो हल र भवन नभएकोले आफ्नै भवन निर्माण गर्नेतर्फ अग्रसर हुने बताए।

प्रकाशित: २० माघ २०७६ ०१:३५ सोमबार

संघ नेतृत्व प्रतिद्वन्द्वी