खेल

वुडबलमा अर्विन च्याम्पियन

वुडबल च्याम्पियन अर्बिन कोइरालालाई पुरस्कृत गर्दे फिसुकी उपाध्यक्ष पेनिन्नाहा काबेन्ज । तस्बिर : नागरिक

काठमाडौं – दोस्रो विश्वविद्यालयस्तरीय राष्ट्रिय ओपन वुडबल च्याम्पिनसिपमा शनिबार त्रिभुवन विश्वविद्यालयका अर्बिन कोइराला च्याम्पियन भएका छन्। विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजना शनिबार सम्पन्न च्याम्पियनसिपमा  त्रिभुवन विश्वविद्यालय (टियु) का कोइराला १ सय ३ स्कोर बटुल्दै च्याम्पियन भएका हुन्।

ललितपुरको जावलाखेलस्थित जावलाखेल स्पोर्ट्स क्लबको मैदानमा भएको खेलमा कोइरालाले कुल २४ गेट पार गर्न १ सय ३ हिट खर्चिएका थिए। च्याम्पियन कोइरालाले ट्रफीसँगै यताउता ट्राभल्सबाट प्रायोजित १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। टियुकै जेनिस महत दोस्रो स्थानमा रहे। जेनिसले २४ गेट पार गर्न १ सय ७ हिट खर्चिएका थिए। दोस्रोमा रहेका जेनिसले पनि ट्रफीसँगै सात हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। काठमाडौं विश्वविद्यालयका विष्णु पाण्डे तेस्रो स्थानमा रहँदा १ सय १३ हिटमा २४ गेट पार गराए। उनले नगद पाँच हजार  रुपैयाँ पुरस्कार प्राप्त गरे।

विजेतालाई अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) की उपाध्यक्ष पेनिन्नाहा काबेन्ज र विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्ण बोहोरोलगायतले पुरस्कृत गरेका थिए। च्याम्पियनसिपमा खुलातर्फबाट प्रतिस्पर्धा गरेका रेसब खतिवडा बेस्ट हिटर घोषित भए। रेसब पाँच हजार नगद पुरस्कारबाट पुरस्कृत भए। यसअघि प्रतियोगिताको फिसुकी उपाध्यक्ष पेनिन्नाह, ओलम्पियन दीपक विष्ट र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सट प्रहार गरी उद्घाटन गरेका थिए।

यस प्रतियोगितामा ६ विश्वविद्यालय र खुलातर्फबाट गरी कुल ६७ खेलाडीले चुनौती प्रस्तुत गरेका थिए। शनिबार नै दक्षिण एसियाली विश्वविद्यालय खेलकुद महासंघको बैठक काठमाडौंमा सम्पन्न भएको छ। दक्षिण एसिया विश्वविद्यालय खेलकुद महासंघका कार्यवाहक अध्यक्ष अब्दुल कसिम सिकदरको अध्यक्षतामा बसेको बैठकले दक्षिण एसियाली विश्वविद्यालयस्तरको विभिन्न खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। त्यसअन्तर्गत आगामी अप्रिलमा भारतको कोलकातामा विश्वविद्यालय क्रिकेट प्रतियोगिता गर्ने विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्ण बोहोराले जानकारी गराए।

प्रकाशित: १९ माघ २०७६ ०१:५७ आइतबार

विश्वविद्यालय वुडबल