खेल

फुटसल र क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले ललितपुरमा शुक्रबार सुविधासम्पन्न क्रिकेट र फुटसल एकेडेमी सञ्चालनमा ल्याएको छ। ललितपुरस्थित हात्तिवनमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकेडेमी, नेपाल क्रिकेट संघका प्रतिनिधि लगायतले एकेडेमीको उद्घाटन गरे।

यस अघि क्रिकेट एकेडेमी मात्र सञ्चालन गरेको जिएचसिएले फुटसल एकेडेमी पनि सञ्चालनमा ल्याएको हो। मुख्य स्थलको रूपमा हात्तीवनमा सुविधा सम्पन्न एकेडेमी सञ्चालन गरेको जिएचसिएले यसअघि शान्तिनगरमा एकेडेमी सञ्चालन गरेको थियो। क्रिकेटमा युवा पिढिको लोकप्रियता बढेसँगै र नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित जिएचसिएले ललितपुरमा चार रोपनी जग्गामा सुविधा सम्पन्न एकेडेमी सञ्चालमा ल्याएको जिएचसीका सञ्चालक सुदीप शर्माले बताए। ‘क्रिकेटको लोकप्रियता बढेको छ। प्रतिभा खोज्ने लक्ष्यका साथ एकेडेमीलाई विस्तार गरिएको हो,’सञ्चालक सुदीपले भने।

शन्तिनगरमा सन् २०१३ मा भएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीको नवनिर्मित एकेडेमीमा इन्डोर अभ्यास, आधुनिक प्रविधिमैत्री अभ्यासस्थल र आधुनिक बलिङ मेसिन लगायका सेवासुविधा छन्। उमेर समूहदेखि राष्ट्रिय स्तरमा एकेडेमीका खेलाडीले स्थान बनाइसकेका छन्। राष्ट्रिय टिमका ईशान पाण्डे जिएचसिएकै उत्पादन हुन्। सागर ढकाल, अभिशेक बस्नेत र हिमान्सु दत्तले पनि जिएचसिएबाट क्रिेकट करियर बनाएका थिए।

उद्घाटन समारोहमा एकेडेमीले धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि एक लाख रुपैयाँ सहयोग गरेको छ। जिएचसिएका सञ्चालक शर्माले फाउन्डेसनका सचिव पुरुषोत्तम हुमागांईलाइ एक लाखको चेक प्रदान गरे।

प्रकाशित: १८ माघ २०७६ ०१:१३ शनिबार

क्रिकेट एकेडेमी ललितपु