खेल

जितबाट इङ्ल्यान्ड कप्तानलाई राहत

जोहनेसबर्ग – पाहुना टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकासँगको चौथो टेस्टमा १ सय ९१ रनको जित निकाल्दै शृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ।

मार्क वुडले चार विकेट लिँदा घरेलु टोली दक्षिण अफ्रिका बेलुकी सत्रमा २ सय ७४ रनमा समेटिएपछि इङ्ल्यान्डले सहज जित निकालेको थियो।  दक्षिण अफ्रिका चौथो दिन ४ सय ६६ रनको लक्ष्य पछ्याउन असफल भयो। जोए रुटको कप्तानीमा इङ्ल्यान्डको टोली बनाएपछि निकै आलोचना भए पनि दक्षिण अफ्रिकाविरुद्धको जितले स्वयम् रुटलाई पनि राहत मिलेको छ।

‘पहिलो सेट गुमाएको अवस्थामा यो सफलता मिल्नु ठूलो कुरा हो।  सबै खेलाडीको समग्र प्रयासले यो सम्भव बन्यो,’ शृंखलाको ट्रफी उचालेपछि रुटले भने, ‘यो जितले इङ्लिस टोलीलाई थप उत्साह दिलाउनेछ। ’ दक्षिण अफ्रिका आफ्नो टेस्ट क्रिकेट इतिहासमै खराब फर्मबाट खुज्रिरहँदा पछिल्ला ९ खेलमा ८ हार बेहोरेको छ।  

सन् १९१० देखि १९१२ सम्म ११ टेस्टमध्ये १० खेलमा पराजित भएयता दक्षिण अफ्रिकाको सबैभन्दा खराब लय यो सिजनमा जारी  छ।  दक्षिण अफ्रिकालाई खराब लय भोग्न बाध्य बनाउँदै इङ्ल्यान्डका वुडले ५४ रनमा पाँच विकेट खर्चिए।  उनले यस शृंखलामा कुल ९ विकेट निकाले।  बेन स्टोक्स र स्टुवार्ट ब्रोडले थप २-२ विकेट लिए।  

जोए रुटको कप्तानीमा इङ्ल्यान्डको टोली बनाएपछि निकै आलोचना भए पनि दक्षिण अफ्रिकाविरुद्धको जितले स्वयम् रुटलाई पनि राहत मिलेको छ।

घरेलु टोली मध्यदिनमा नै महत्वपूर्ण विकेट गुमाउन पुगेपछि ४ सय ६६ रनको लक्ष्य पूरा गर्न असफल रहने देखिएको थियो।  ‘इङ्ल्यान्डको बलिङ र ब्याटिङसँगै हरेक पाटो हामीभन्दा निकै अब्बल देखियो,’ दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले भने,‘हाम्रोभन्दा निकै सन्तुलित टोली बनेकाले इङ्ल्यान्ड जितको लायक बन्यो।

दक्षिण अफ्रिकाका रासी भान डेर डसेन ९८ रनमा आउट भएपछि उनी पहिलो टेस्ट शतकनजिक पुगेर पनि चुके।  कप्तान डु प्लेसिस ३५ रनमा बेन स्टोक्सद्वारा आउट भएपछि पाँच बलपश्चात् नै डसेन पवेलियन फर्किएका थिए।   दक्षिण अफ्रिकाले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेको थियो।  त्यसपछि भने दक्षिण अफ्रिकाले खासै राम्रो साझेदारी बनाउन सकेन। आठौं विकेटका रूपमा क्विन्टन डी कक ३९ रनमा आउट भएसँगै घरेलु टोलीको हार सुनिश्चित देखिएको थियो। 

प्रकाशित: १५ माघ २०७६ ०२:०५ बुधबार

इङ्ल्यान्ड क्रिकेट