खेल

उपाधिहोडबाट थ्री स्टार प्रशिक्षकले उठाए हात

काठमाडौं - मच्छिन्द्र क्लबलाई नतिजा सुम्पिएसँगै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफूहरू सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होडबाट बाहिरिएको प्रतिक्रिया दिएका छन्। कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा थ्री स्टारले मच्छिन्द्र क्लबलाई २–० को नतिजा सुम्पिएको हो।

यस हारपछि ९ खेलको समाप्तिमा ४ जित, २ बराबरी र ३ हारको नतिजापछि १४ अंक जोडेको थ्री स्टार चौथो स्थानमा छ। यता थ्री स्टारमाथिको जितपछि समान खेलमा १९ अंक जोडेको मच्छिन्द्र भने शीर्ष स्थानमा फर्किएको छ। एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब १७ अंकका साथ दोस्रो, १६ अंक जोडेको साबिक विजेता मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थानमा छन्। १४ अंक जोडेको नेपाल पुलिस पाँचांै स्थानमा छ।

‘खेलमा जित–हार हुन्छ, तर टोलीले गरेको प्रदर्शनबाट म सन्तुष्ट छु,’ प्रशिक्षक केसीले भने, ‘आजको हारपछि हामी उपाधिहोडबाट बाहिरिएका छांै र अबको हाम्रो लक्ष्य भनेको शीर्ष ६ मा बस्दै लिगको अन्त्य गर्नु हो। सम्भवतः दुवै टोलीले आज स्तरीय खेल खेले। मच्छिन्द्रले दुई पटक पाएको सहज अवसरलाई पोस्टको दिशा दिन सफल भयो।’

‘आजको प्रदर्शनले टोलीको मनोबल बढेको छ। यसले लिगमा बाँकी रहेका खेलका लागि उत्कृष्ट प्रदर्शन गर्ने हौसला मिलेको छ,’ केसीले थपे। ३८औं मिनेटमा रेजिन सुब्बाले गरेको गोलमा मच्छिन्द्रले अग्रता लिएको थियो। खेलको अन्तिम मिनेटमा थ्री स्टारका गोलकिपर र रक्षापंक्तिबीचको तालमेल अभावको फाइदा उठाउँदै विशाल राई ‘बी’ ले मच्छिन्द्रको अग्रता दोब्बर पारेका थिए।

‘कुनै खेल हुन्छ,जसमा प्रशिक्षक र खेलाडी सबै सन्तुष्ट हुन्छन्,’ मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘थ्री स्टारविरुद्धको खेल त्यस्तै रह्यो। हामी  शीर्ष स्थानमा फर्किएका छौं । टोलीको मनोबल बढेको छ।’ केही शीर्ष खेलाडीको अनुपस्थिति र चोटले भने टोलीलाई केही असर गर्ने कटुवालको भनाइ छ।

‘हाम्रो टोलीमा स्टार खेलाडीको बाहुल्य छ र हामीमा उपाधिको दबाब पनि त्यति नै छ,’ कटुवालले भने, ‘केही खेलाडी पूर्ण रूपमा फिट छैनन् तर पनि उनीहरूलाई खेलाउनुको विकल्प हामीसँग छैन। हेमन गुरुङ लिगको पहिलो खेलपछि नै अस्ट्रेलिया गएका थिए भने केही दिनअघि मात्र अर्का स्ट्राइकर अभिषेक रिजाल पनि माल्दिभ्समा लिग खेल्न गएका छन्। त्यसैले आज सुजल र रेजिनलाई पूर्ण रूपमा फिट नभए पनि खेलाउन बाध्य भयौं।’

यसअघि सोमबारै दशरथ रंगशालामा भएको विभागीय डर्बीमा नेपाल पुलिसले लिगको पाँचाैं स्थानमा उक्लिने क्रममा एपिएफलाई १–० ले हरायो। खेलको १३औं मिनेटमा कप्तान भोला सिलवालले पेनाल्टीमा गरेको गोल पुलिसको जितमा पर्याप्त बन्यो। हारपछि ९ खेलमा ५ अंकका साथ एपिएफ १३औं स्थानमा यथावत् छ।

प्रकाशित: १४ माघ २०७६ ०१:५१ मंगलबार

थ्री_स्टार दशरथ_रंगशाला