लन्डन – वेस्ट ह्यामका पूर्वप्रशिक्षक स्लाभिन बिलिकले सम्हालेको क्लब वेस्ट ब्रोमले शनिबार राति एफए कपअन्तर्गत चौथो चरणको खेलमा वेस्ट ह्याममाथि १–० को रोमाञ्चक जित हात पार्दा टोटेह्यामले साउथ ह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको छ।
वेस्ट ह्यामले स्लाभिन बिलिकलाई यसअघिको सिजन २०१७ मा बर्खास्त गरेको थियो। बिलिकले वेस्ट ह्यामसँग एफए कपमा आफ्नो टोली मैदान उतार्दा ८ परिवर्तन गरेका थिए। प्रिमियर लिगमा भन्दा भिन्न शैलीमा खेल खेलाएका बिलिकले पूर्वक्लबमाथि रोमाञ्चक जित निकाल्न सफल भएका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा वेस्ट ब्रोमले नवौं मिनेटमा लिएको अग्रतालाई अन्तिम समयसम्म कायम राख्दा रोमाञ्चक जित निकालेको हो। नवौं मिनेटमा कोनोर टाउनसेन्डले गरेको गोल निर्णायक बनेको हो। डेभिड मोईले सम्हालेको वेस्ट ह्यामले खेलमा फर्किन निकै संघर्ष गरे पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा सुम्पिन बाध्य भएको होे।
मोईको प्रशिक्षणमा रहेको वेस्ट ह्यामले पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन। वेस्ट ब्रोमका सेमी अजयी दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए पनि वेस्ट ह्यामले कम खेलाडी भएको फाइदा उठाउन असफल भएको थियो। गोल फर्काउनका लागि वेस्ट ह्यामका सेबास्टियन हलर र म्यानुयल लान्जिनीले अवसर पाए पनि बललाई गोलको दिशा दिन सकेनन्। यस्तै एफए कपअन्तर्गत शनिबार राति भएको अर्को खेलमा टोटेनह्यामले ५८औं मिनेटमा लिएको अग्रतालाई अन्तिम तीन मिनेट कायम राख्न नसक्दा बराबरी खेलेको हो। ८७औं मिनेटमा साउथ ह्याम्पटनका सोफियन बोउफलले बराबरी गोल फर्काएका थिए।
शनिबार राति भएको अर्को खेलमा टोटेनह्यामले ५८औं मिनेटमा लिएको अग्रतालाई अन्तिम तीन मिनेट कायम राख्न नसक्दा बराबरी खेलेको हो।
यसअघि टोटेनह्यामले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो। घरेलु टोलीसँग दबाबमा परेको टोटेनह्याम दोस्रो हाफमा भने खेलको लय समात्न सफल भयो। ५८औं मिनेटमा सन ह्युङ मिनको गोलमा टोलीले अग्रता बनाएको थियो। बराबरीको नतिजासँगै टोटेनह्याम र साउथह्याम्पटन पुनः एक पटक भिड्नेछन्। ‘साउथह्याम्पटन राम्रो टिम हो। उनीहरूले हामीलाई दबाबमा राख्दै अन्तिम मिनेटमा गोल गर्न सफल भए। यद्यपि हामीले स्वाभाविक खेल देखायौं,’ टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले भने।
एफए कपअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा चेल्सीले हल सिटी र नर्विच सिटीले बर्नलीमाथि समान २–१ को जित निकाल्दा सेफिल्ड युनाइटेडले मिलवाललाई २–०, लेस्टर सिटीले बे्रन्टफर्डलाई १–० ले पराजित गरे। कार्डिफ सिटीले भने रिडिङसँग १–१ गोलको बराबरी खेल्यो।
प्रकाशित: १३ माघ २०७६ ०२:५४ सोमबार