खेल

शून्यतातिर उर्वर भूमि

पाेखरा - हिजोको भलिबलमा पश्चिमाञ्चलको गर्विलो छवि थियो। हरेक उपाधि पश्चिमाञ्चलको नाममा लेखिन्थ्यो। तर समय फेरिएको छ। पश्चिमाञ्चलको महिला तथा पुरुष भलिबल शून्यतातिर झरेको छ।

शून्यतामा झरेसँगै टोलीले काठमाडौंमा सम्पन्न एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन सकेन। त्यसअघि न्यु डायमन्डले आयोजना गरेको महिला भलिबललाई पनि पश्चिमाञ्चलको सहभागिता देखिएन। यसले नै पश्चिमाञ्चलको भलिबल स्तरलाई मापन गरिदिएको छ।

भलिबलमा पश्चिमाञ्चल उर्वर भूमि हो। क्षेत्रीय तथा राष्ट्रियस्तरको भलिबलको कुनै नै कुनै ट्रफीमा पश्चिमाञ्चलको दाबी रहन्थ्यो। साथै पश्चिमाञ्चल क्षेत्रबाटै उदाएका खेलाडीले विभागीय टोलीलाई पनि साथ दिँदै आएको इतिहास छ। काठमाडौंमा आयोजित ढोरपाटन महिला डबल लिग भलिबलमा ६ वर्ष निरन्तर आफ्नो नाममा लेखाएको पश्चिमाञ्चलमा अहिले राष्ट्रिय स्तरका खेलाडी खोज्नुपर्ने बाध्यता छ।

उपाधिमा निरन्तर कब्जा जमाए पनि त्यसपछिको समय भने ओरालिँदै गयो। चौथो स्थानमा चित्त बुझाउनुपर्ने बाध्यतामा सीमित हुन पुग्यो। केही वर्षयता त्यो स्थितिबाट तल झरेर केवल सहभागिता मात्रै सीमित हुने वातावरण छ। अहिले सहभागिता गाह्रो हुन लाग्यो। खेलाडी छैनन्। भएका केही खेलाडी विभिन्न क्लबमा अनुबन्धित भएर आफ्नो खेललाई उचाइसँगै निरन्तरता दिइरहेका छन्। तर पश्चिमाञ्चलको नाम खेलाडीसँग मात्र जोडिएको छ। टिमको सहभागिता भने छैन।

कुनै समय पश्चिमाञ्चलबाट खेल्ने सरस्वती चौधरी (हाल एपिएफ), सिपोरा गुरुङ (हाल अमेरिका), मञ्जु गुरुङ (विवाहपछि युके), परीक्षा गुरुङ (युके), नेपाल राष्ट्रिय महिला भलिबलकी कप्तान अरूणा शाही (हाल डायमन्डमा अनुबन्धित भएर खेल्दै, सन्जु पुर्जा (अस्ट्रेलिया), मान्ती आले (हङकङ), कमला पौडेल (दन्त चिकित्सक), हीरा केसी (एपिएफ), मनीषा चौधरी (नेपाल पुलिस), शशि चौधरी (एपिएफ), रञ्जना खाण थिए। अहिले सबै छिन्नभिन्न भइसकेका छन्। दरिलो उपस्थिति थियो। तर अहिले भलिबलमा उनीहरूका उत्तराधिकारी पश्चिमाञ्चलमा छैनन्। खेलाडी छन् तर राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने छैनन्।

‘महिला भलिबल अहिले अस्ताएको जस्तै छ। फेरि उदाउन समय लाग्छ। त्यसका लागि ग्रास लेभलदेखि नै फेरि प्रशिक्षण सुरु गर्नुपर्छ।’ कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भने, ‘पुरानो गर्विलो इतिहास दोहो-याउन एक दशक समय लाग्छ।’ उनका अनुसार हिजो भलिबलको आवश्यक पूर्वाधार नहुँदा इतिहास थियो। अहिले पूर्वाधार तयार छ, तर भलिबल इतिहासमा पुगेको छ। विभागीय टोलीलाई कडा चुनौती दिने एक मात्र टोली पश्चिमाञ्चल थियो। अहिले एकादेशको कहानीजस्तै भइसकेको छ।

‘पूर्वाधार बनेका छन्। अब विद्यालयस्तरदेखि नै भलिबललाई फोकस गर्नुपर्छ,’ पराजुलीले भने, ‘हिजो स्कुलले पनि भलिबलमा लगानी गरेको अवस्था थियो। तर अहिले विद्यालयले भलिबलप्रति अभिरुचि देखाउनै सकेका छैनन्। खेलकुद विकास समितिले पनि त्यसतर्फ ध्यान दिन सकेजस्तो देखिँदैन।’ उनका अनुसार विभिन्न राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिता आयोजना हुँदा जिल्ला र क्षेत्रीय संघसँग नेपाल भलिबल संघले समन्वयकारी भूमिका नखेल्दा समेत भलिबल उकास्न सकिएको छैन। ‘समन्वय नै छैन। जिल्लालाई राष्ट्रिय प्रतियोगिताका बारेमा जानकारी नै हुँदैन,’ उनले थपे, ‘नेपाल भलिबल संघले पश्चिमाञ्चल हुँदै जिल्ला संघलाई पनि खबर गरेको अवस्थामा खेलको विकास हुन्छ।’

केन्द्रीय संघले जिल्ला र क्षेत्रमा समन्वय नै नगर्ने परिपाटीले पनि खेलको स्तर हिजोभन्दा आज खस्किँदै गएको छ। उनले हिजोका जस्ता खेलाडी नभए पनि समन्वय नहुँदा जिल्लाकै खेलाडीले खेल्ने अवसर नै नपाएको गुनासो गरे। नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ संघको समन्वयभन्दा पनि पश्चिमाञ्चल भलिबल संघका पदाधिकारीको कमजोरीले भलिबलको यस्तो हालत भएको बताउँछन्। खेलाडी अन्यत्र क्लबबाट खेलिरहेका छन्।

‘पश्चिमाञ्चल भलिबल संघको कमजोरी छ। संघले प्रतियोगिता आयोजना गराएको छैन। प्रतियोगितामा खेलाडीलाई सहभागिता गराउने विषयमा ध्यान समेत दिन सक्दैन,’ उपाध्यक्ष गुरुङले भने, ‘प्रतियोगितात्मक कार्यक्रम ल्याउन नसक्ने संघको कमजोरीले केन्द्रीय समितिमा समेत प्रश्न उठ्न थालिसकेको छ।’ उनका अनुसार काम गर्न नसक्ने पदाधिकारीले पदीय जिम्मेवारीबाट मुक्त हुनुपर्छ। भलिबलको विकास र विस्तारका लागि योजनाबद्ध रूपमा कार्यक्रम ल्याउँदै प्रशिक्षण गराउनुपर्नेमा जोड दिएका छन्।

संघले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिसँग प्रशिक्षक माग्नुपर्छ। ‘प्रशिक्षक मागेर प्रशिक्षण गराउँदै फेरि पुरानै लयमा फर्काउन संघले विशेष ध्यान दिनुपर्छ,’ उनको भनाइ थियो। पछिल्लो समय पोखरामा क्षेत्रीयस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजनै हुन सकेको छैन। भएका खेलाडी पनि पलायन हुँदै गएका छन्। भलिबल प्रशिक्षक कौशला खत्रीले भने आफूलाई प्रशिक्षणको वातावरण मिलाइदिए जुनसुकै समयमा पनि प्रशिक्षण गराउने प्रतिबद्धता जनाइन्। ‘टिम तयारीसँगै व्यवस्थापन भए प्रशिक्षणको वातावरण हुन्छ,’ उनले भनिन्। पश्चिमाञ्चलको भलिबलको स्तर फेरि फर्काउन भलिबलको एकेडेमी सञ्चालन गर्नुपर्ने प्रशिक्षक खत्रीको जोड छ।

एकेडेमी सञ्चालन गर्न सकिएको अवस्थामा लगातार तीन वर्ष प्रशिक्षण गराए पश्चिमाञ्चलको भलिबल स्तर पुरानै अवस्थामा फर्काउन सकिन्छ,’ उनले भनिन् ‘नत्र भलिबलको स्तर माथि उठाउन सकिने अवस्था छैन। उनका अनुसार हिजो ज्ञानुबाबा र फिस्टेल स्कुलले भलिबलका लागि खेलाडी खोजेर ल्याउँथे। रोल मोडलको भूमिका खेले। अहिले बिस्तारै हात झिके अनि अवस्था खस्किँदै गएको हो।’

प्रकाशित: १३ माघ २०७६ ०१:३८ सोमबार

भलिबल पश्चिमाञ्चल ढोरपाटन_महिला